शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • बिनाअपराध ३९ वर्ष जेल ! २ करोड डलरको क्षतिपूर्ति

बिनाअपराध ३९ वर्ष जेल ! २ करोड डलरको क्षतिपूर्ति

  • मङ्लबार, फाल्गुन १४, २०७५
बिनाअपराध ३९ वर्ष जेल ! २ करोड डलरको क्षतिपूर्ति

२०७५ फागुन १४

एजेन्सी । क्रेग कोल नामक एक व्यक्तिले गर्दै नगरेको अपराधका लागि आफ्नो जीवनको ३९ वर्ष जेलमा बिताएका छन् । यस्तोमा हाल ७१ वर्षका क्रेगलाई अबको बाँकी जिन्दगी भने आलिसान तरिकाले र आरामपूर्वक गुजार्न दिनु नै न्याय हुने बताइएको छ ।

यसै अन्तर्गत शनिबार मात्र क्यालिफोर्नियास्थित सिमि भ्यालीले यो मुद्दा सुल्झाउन क्रेगलाई २ करोड १० लाख अमेरिकी डलर प्रदान गर्ने बताएको हो । १९७८ नोभेम्बरमा रोन्डा विक्ट र तिनका चार वर्षीय छोरा डोनाल्डको हत्याको अभियोगमा उनी झन्डै चार दशकसम्म जेलमा थुनिएका हुन् । रोन्डा क्रेगकी पूर्वप्रेमिका हुन् ।

यसरी ३९ वर्षको कैद क्यालिफोर्नियामा गलत आरोपका लागि सबैभन्दा लामो अवधिको जेल सजायँ भएको बताइएको छ । शहरका व्यवस्थापक एरिक लेभिटले एक बयानमार्फत भने, “क्रेगसँग भएको अन्यायको भरपाइ गर्न जतिसुकै ठूलो रकम पनि पर्याप्त हुनेछैन । तरपनि यो मुद्दालाई यसरी टुङ्ग्याउनु नै क्रेग र समाजका लागि सबैभन्दा उपयुक्त हुनेछ ।”

यसरी गलत अभियोगमा पक्राउ पर्ने धेरैले आफूले भोगेको सजायँको उचित क्षतिपूर्ति प्राप्त गर्न लामो लडाईँ लड्नुपर्ने हुन्छ । तर क्रेगको विषयमा भने सिमी भ्याली पुलिसले नै उनको समर्थनमा यो केस पुनः खुलाएको हो ।

पुलिस अधिकारी माइकल बेन्डरले उनको केसमा समस्या रहेको पत्ता लगाएपछि पुनः अनुसन्धानका लागि पहल गरेका थिए । यसरी समाज, रोजगारी र आफ्ना परिवार अनि इष्टमित्रबाट टाढा रहेर लामो समय अनुचित ढङ्गमा कैद भएका क्रेग २०१७ मा मात्र निर्दोष साबित भएका हुन् ।

जसपछि क्यालिफोर्निया पीडित क्षतिपूर्ति बोर्डले उनलाई २० लाख डलरको दिएको थियो । उनले जेलमा बिताएका १३,९९१ दिनका लागि प्रतिदिन १४० डलरको दरले उनलाई सो क्षतिपूर्ति दिइएको थियो ।

तर निर्दोष साबित गर्न दशकौँ अगाडिको उक्त मुद्दालाई सुरु देखि नै अनुसन्धान गर्नु परेको हो । त्यतिबेला डिएनए परीक्षण उपलब्ध नभएकाले पनि कानुनले उनको विपक्षमा निर्णय लिएको बताइएको छ । तर पुनः अनुसन्धान गरिएपछि भने उनीविरुद्ध कुनै प्रमाण फेला परेन र अन्त्यमा यो मुद्दालाई न्यायपूर्वक टुङ्गो लगाइएको हो ।

एक अनुसन्धानकर्ताले गलत ढङ्गले यो घटना समाधान गरेकाले नै क्रेग बिना अपराध जेल जान बाध्य भएको बताइएको छ । यसकारण पनि भेन्टुरा काउन्टि सुपेरियर कोर्टले उनलाई जेलमुक्त मात्र नगरेर पूर्ण रुपमा निर्दोष ठहर गरेको हो र थप क्षतिपूर्ति पाउने बाटो समेत खोलिदिएको सीएनएनले जनाएको छ ।

क्रेग त्यसअधि कहिल्यै पनि अपराधिक गतिविधिमा संलग्न भएको रेकर्ड थिएन भने बिना अपराध जेल जीवन बिताउँदा समेत उनी आदर्श कैदी भएको बताइएको छ र ३९ वर्ष जेलमा बस्दा उनी धर्मकर्ममा मात्र समर्पित रहेको बताइएको छ । यति मात्र नभएर उनले जेल भित्रैबाट दुईवटा डिग्री समेत हासिल गरेका छन् । यसरी उनले सहनुपरेको पीडा अवर्णनीय भएको बताइएको छ । तर यो घटनाबारे सत्य बाहिर ल्याइ क्रेगलाई न्याय दिलाइएपनि रोन्डा र डोनाल्डका वास्तविक अपराधी भने यस क्रममा सजायँबाट बचेका छन् ।

चर्चामा

सम्बन्धित समाचार