शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • होटेलमा आगलागी, १७ को मृत्यु

होटेलमा आगलागी, १७ को मृत्यु

  • बिहिबार, फाल्गुन २, २०७५
होटेलमा आगलागी, १७ को मृत्यु

दिल्लीको मध्यक्षेत्रमा रहेको एक होटेलमा मंगलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । आगलागीमा अन्य ११ जना घाइते भएको दिल्लीको अग्नि नियन्त्रण विभागले जनाएको छ । करोलबाघस्थित गुरुद्वारा सडकमा रहेको अर्पित प्यालेस होटेलको चौथो तलाबाट मंगलबार बिहान साढे ४ बजे आगो लागेको थियो ।

आगलागीपछि तत्काल वारुणयन्त्रसहित अग्नि नियन्त्रकले आगो निभाउने प्रयास गरे पनि धेरै व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको छ । आगलागीको समयमा मानिसहरू निदाएकाले धेरैको मृत्यु भएको प्रहरी उपआयुक्त एमएस रान्धावाले बताए । आगलागीको प्रस्ट कारण खुलेको छैन ।
अग्नि नियन्त्रण विभागका प्रमुख अतुल गर्गका अनुसार उद्धारकर्ताले होटेलभित्र फसेका ३५ जनालाई सकुशल उद्धार गरेका थिए । आगो लागेको समयमा होटेलका विभिन्न कोठामा १२० जना मानिस रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगो लागेपछि एक महिलाले बालकलाई लिएरै होटेलको झ्यालबाट हामफाल्दा उनीहरूको मृत्यु भएको थियो । त्यस्तै १५ जनाको होटेलको कोठाभित्र नै जलेर ज्यान गएको थियो । आगोमा जलेका घाइते ११ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीका घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । प्रहरी उपआयुक्त एमएस रान्धावाले भने, ‘आगलागीबाट घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।’

आगलागी भएको सो चारतले होटेलमा ३५ कोठा थिए । सोमबार उक्त होटेल एक परिवारले कार्यक्रमका लागि लिएको थियो । यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीमा मारिएका व्यक्तिप्रति समवेदना व्यक्त गरेका छन् । आगलागीबारे तत्काल अनुसन्धान गर्न मोदीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सो होटेल २५ वर्षअघि निर्माण गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार