धनगढी–नेकपा (प्रचण्ड–माधव) का नेता भीम रावलले नेतृत्व गरेको धनगढीको विरोध सभा कार्यक्रममा भने विभिन्न दृश्यहरु हेर्न लायक थियो। सयौँ नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको विरोध सभामा स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई भने वेवास्ता गरिएको थियो।
यसैबीच विरोध सभाको मुख्यवक्ता नेकपा (प्रचण्ड–माधव) समूहका नेता एंव सुदूरपश्चिम इन्चार्ज भीम राललले करिब ४५ मिनेट बोले। तर उनको मुखमा मास्क नभई, उनी अगाडि प्रयोग गरिएको माइकमा मास्कमा लगाइएको थियो। देशमा कोरोना भाइरसको संक्रमण र मृत्युदर उच्च छ। महामारीको दोस्रो लहर फैलिँदो क्रममा छ। तर पछिल्लो समय महामारीलाई पूरै वेवास्ता गरिएको छ।
नेता रावलले मात्रै होइन, अन्य नेता कार्यकर्ताहरु पनि मास्क प्रयोगमा ध्यान दिएका छैनन्। धनगढीको चौराहादेखि पार्क मोडसम्म संयौंको सहभागितामा रहेका नेता कार्यकर्ताहरु सुरक्षा सातर्ककतामा ध्यान नदिएका हुन्।सामान्यतया कोरोनाबाट बच्न सजिलो उपाय भनेकै मास्क, सेनिटाइजरको प्रयोग र भौतिक दूरी कायम गर्नु अनिवार्य हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गराएपछि देशमा उत्पन्न राजनीतिक संकटले त झनै महामारीलाई पूर्ण रुपमा बिर्साएको चित्रण गर्छ। पछिल्लो उदाहरण राजावादीको प्रदर्शनमा मात्रै होइन जनता समाजवादी पार्टी, नेपाली काँग्रेस, विवेकशील साझादेखि नेकपाको ओली पक्ष तथा प्रचण्ड–माधव समूहले आयोजना गर्ने विरोध प्रदर्शन तथा सभामा छर्लंगै देखिन्छ।
सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर कमर भन्छन्,‘कोरोनाबाट बच्न के–के गर्नुपर्छ, सबैले बुझेकै कुरो हो। धेरै मानिस जम्मा भएको कार्यक्रममा बोल्ने वक्ताले सकेसम्म मास्क प्रयोग गर्ने हो। सुरक्षाको लागि अगाडि राखिने माइकमा पनि मास्क राखिन्छ। तर व्यक्तिपिच्छे माइकमा अर्को मास्क परिवर्तन गर्नु राम्रो हो। त्यस्तो नभए संक्रमण हुने सम्भावना हुन्छ।’
धनगढीमा मात्रै होइन, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा नेकपा प्रचण्ड–माधव समूहले आयोजना गरेको विरोध सभा पनि स्वास्थ्य सुरक्षा सतर्कता अप्नाइएको थिएन। मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा आयोजना गरेको विरोध सभामा विना मास्क सम्बोधन गरे। #दिनेश खबर