शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • एक महिनामै सुदूरपश्चिमका क्वारेन्टिनबाट घर फर्किए ६० हजार, अब समुदायमै परीक्षण गर्ने तयारी

एक महिनामै सुदूरपश्चिमका क्वारेन्टिनबाट घर फर्किए ६० हजार, अब समुदायमै परीक्षण गर्ने तयारी

  • मङ्लबार, असार ३०, २०७७
सेयर गर्नुहोस् :
एक महिनामै सुदूरपश्चिमका क्वारेन्टिनबाट घर फर्किए ६० हजार, अब समुदायमै परीक्षण गर्ने तयारी

क्वारेन्टिनमा बस्ने व्यक्तिको संख्या कम संख्यामा झरेपछि सुदूपश्चिम प्रदेशले समुदायस्तरमा गएर कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले अबको १५ दिनमा समुदायमा गएर परीक्षण सुरु गरिने बताए। उनले अहिले क्वारेन्टिनमा जम्मा ६ हजार १ सय ९१ जना रहेको र विस्तारै त्यो संख्या अझ कम हुने जनाउँदै समुदायमै गएर परीक्षण गर्ने तयारी भएको बताए।

समुदायमा परीक्षण गर्दा केही प्रोटोकल निर्धारण गरिएको उनको भनाइ छ। डा. अवस्थीले सेतोपाटीसँग भने, ‘हामीले समुदायको परीक्षण गर्दा सुरुमा संक्रमित व्यक्तिहरूको परिवारका सदस्यहरूको गर्छौं। त्यसपछि बढी संक्रमित भएका जिल्लाहरूलाई बढी फोकस गर्छौ।’

उनले कैलालीमा सर्वाधिक एक हजार बढी संक्रमित रहेको भन्दै त्यहाँ पनि कुन पालिकामा बढी संक्रमित छन् सोही अनुसार परीक्षणको नीति तय गरिने जनाए।

त्यसपछि ५ सय बढी संक्रमित भएका जिल्लाहरूको समुदायमा परीक्षण गर्ने प्रदेशको रणनीति छ। भारतसँग धेरै राेजगारीकाे साइनो जोडिएकाले सुरुआतदेखि नै सुदूरपश्चिम संक्रमणको उच्च जोखिममा थियो। सुरुआतका ती समयमा त प्रदेशले भारतबाट आउनेहरूको व्यवस्थापनलाई थेग्नै सकेन।

एउटा नाकाबाट मात्र दैनिक ४ हजार सम्म मानिस भारतबाट आएपछि प्रदेशले उनीहरूलाई परीक्षणबिनै सम्बन्धित जिल्लाहरु पठाएको थियो। त्यसरी आएका व्यक्तिहरूलाई सम्बन्धित जिल्लाहरूको क्वारेन्टिनमा राखेपनि उनीहरूलाई राम्रो व्यवस्थापन गर्न सकिएन।

खानपिन र बासस्थानको समेत राम्रो प्रबन्ध गर्न सकिएन। क्वारेन्टिनमा रहेकाहरू सबैको पिसिआर परीक्षण गर्न सकिएन। प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार चैत महिनायता ३ लाख बढी मानिस भारतबाट आएका छन्।

जेठ २७ गते भने त्यो संख्या ६६ हजारमा झरेको थियो। अहिले भने जम्मा ६ हजार व्यक्ति क्वारेन्टिनमा छन् र उनीहरू सबै भारतबाट आएको डा. अवस्थीले जनाए।

अहिलेसम्म प्रदेशमा २७ हजार ३ सय ६३ जनाको पिसिआर परीक्षण गरिएको छ भने १ लाख १८ हजार २ सय ९२ जनाको आरडिटी परीक्षण गरिएको छ।

प्रदेशभर संक्रमितको संख्या ३ हजार ७ सय ८३ छ। जसमा ‘एक्टिभ केस’ २ हजार २ सय ६३ जना छन्। यस्तै १ हजार ५ सय १३ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ।

चर्चामा

सम्बन्धित समाचार