
बाजुरा–बाजुराको सदरमुकाम समेत रहेको बडीमालिका नगरपालिकाका १५ वटा बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । नगरपालिकाका ९ वटै वडाका १५ बस्तीहरु बाढी र पहिरोको जोखिमयुक्त सूचीमा परेका हुन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ अनुसार नदी कटान, भिरालो र कमजोर भू–बनावट, अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको बढ्दो असरका कारण दर्जनौं बस्ती बाढी पहिरोको चपेटामा परेको उल्लेख गरिएको छ । बडीमालिका १, २ को घागर, भौनेरा, पाटा, ३ को मुसिगाउँ, सेरी, घोगाली, ४ को तिपाडा, ओलेना, ५ को सल्लेरीवाडा, ६ को जडाङ्गा, राप्का, ७ को जिल्ली, सिराडी र ८, ९ को बाउली, गडखेत बाढी पहिरोको उच्च जोखिममा रहेको विपद् प्रतिकार्य योजनामा उल्लेख गरिएको छ ।
यस्तै उक्त योजनाले वडा नम्बर १ काफलतोला, उदिना, सल्लेना, चयागाडा, २ को किमडेपान (घागर, माजिगाउँ), रानऐरेडी(जुगाडा, मैमातोला), ३ को भेरी, कमरेज, ठाटीकाद, मुसिगाउँ, सेरी, ४ को ओलेना, तिपाडा, धयाडी, ५ को कैलाशेश्वरी मावि भवन डाडाटोल, ६ को बिरेखोला, ऐराडा, जडाङ्गा, चौडाढुंगा र तल्लो रापक, नगाने क्षेत्र गड् बस्ती स्थानान्तरण गर्नु पर्ने जनाएको छ । ति बस्तीहरुलाई भौनेरा, जुगाडा, थली, माझिगाउँ, तोलीसैन, राताखाली, धामीवाडा, चुथी, काफलतोला, कपल्टा र पोखराखालीमा स्थानान्तरण गर्न सकिने पनि जनाएको छ । तर ती बस्तीहरु स्थानान्तरणका लागि हालसम्म कुनै पहल नहुँदा बर्षातको समयमा यहाँको दैनिक जनजीवन प्रभावित बनेको छ भने बाढी पहिरोको त्रासले रातभर जाग्राम बस्न बाध्य छन् ।
यहीँ साउन ७ गते देखिको अविरल वर्षाका कारण बडीमालिका–९ सेलागाडमा गाउँमाथिबाट आएको बाढी पहिरोका कारण १६ परिवार प्रभावित भएका छन् भने ठुलो खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ । त्यस्तै विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३ को तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै बडीमालिकामा बाढी पहिरोबाट २०७ घरधुरी प्रभावित भएका छन् भने ३३१ रोपनी खेतीयोग्य जग्गा जमिनमा क्षति पुगेको देखिन्छ । यस्तै २०७७ साल साउन २५ गते बुढीगंगा नदीमा अविरल वर्षासँगै आएको बाढीले बडीमालिका नगरपालिका १,२,४,६, ८ र ९ का ३७ परिवारको घर र ६५८ रोपनी खेतीयोग्य जग्गा जमिन बगाएको थियो ।
जिल्लाका सरोकारवालाहरुले विपद् जोखिम न्यूनीकरणका लागि केवल राहत र उद्धारमा सीमित नभई दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै जोखिमयुक्त बस्ती स्थानान्तरण, पहिरो नियन्त्रण, नदी व्यवस्थापन, व्यवस्थित सडक निर्माण, वन संरक्षण तथा प्रभावकारी पूर्वसूचना प्रणालीमा लगानी नगरेसम्म बाजुराले हरेक वर्ष उस्तै पीडा दोहोर्याइरहनुपर्ने अवस्था रहने बताउँदै आएका छन् ।


