
बाजुरा–बिहीवार देखिको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको बाजुराको साँफे–मार्तडी सडक खुलेको छ । बाढी पहिरोले सडकखण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएपछि शुक्रबार बिहान करिब ११ बजे सडकखण्ड पुनः सुचारु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेश बहादुर शाहीले सडखण्डमा गएको पहिरो हटाउन प्रहरीको टोलीसँगै सडक डिभिजन कार्यालय साँफेबगरको डोजर प्रयोग गरेर सुचारु भएको बताएका छन् । साँफे–मार्तडी सडकअन्तर्गत पर्ने कारागार, सेलागाड, राप्का र बीरे खोला क्षेत्रको तलमाथि अविरल वर्षासँगै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्लाको मुख्य सडकखण्ड अवरुद्ध भएपछि रातिदेखि रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ जान थालेका छन् ।
बाढीपहिरो प्रभावित १६ घरधुरी स्थानान्तरण
बडीमालिका नगरपालिका–९ सेलागाडमा अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण १३ घरधुरी जोखिममा परेका छन् । भने तीन घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा पुगेका छन् । शुक्रबार बिहान करिब ४ः३५ बजे घरमाथिबाट पहिरो खसेर बस्ती जोखिममा परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी टोली घटनास्थल पुगी प्रभावित १६ घरधुरीको घरपरिवारका सदस्य, अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा अन्य सर–सामान सुरक्षित स्थानमा सारेर उद्धार गरिएको छ ।
प्रभावितमध्ये उच्च जोखिमका ३ घरधुरीमा २२ जना र १३ घरधुरीमा ८३ जना परिवारका सदस्य बसोबास गर्दै आएका छन् । जोखिममा रहेका बस्तीका स्थानीय प्रेम थापाकी ३० वर्षीया श्रीमती पार्वती थापा बेहोस भएकोमा उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आई डिस्चार्ज गरिएको छ । पहिरोका कारण बडिमालिका नगरपालिका–८ राप्कास्थित टोट्के सिँचाइ नहरमा समेत क्षति पुगेको छ । पहिरोले २०० एमएमको करिब २३० मिटर प्लास्टिक पाइप तथा २५ मिटर पक्की नहर समेत बगाएको छ । अहिले वर्षा रोकिएसँगै क्षतिको विवरण संकलन कार्य भइरहेको छ भने प्रभावित क्षेत्रमा थप निगरानी तथा आवश्यक सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।


