मङ्लबार, साउन ५, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र शिक्षा समता शुल्कबाट पछि हट्यो सरकार

चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र शिक्षा समता शुल्कबाट पछि हट्यो सरकार

  • मङ्लबार, साउन ५, २०८३
सेयर गर्नुहोस् :
चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र शिक्षा समता शुल्कबाट पछि हट्यो सरकार

काठमाडौँ–चौतर्फी विरोध र आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क हटाएको  छ। बिरामी, अभिभावक तथा सरोकारवाला निकायबाट सेवामै थप ३ प्रतिशत शुल्क असुल्ने व्यवस्था भन्दै व्यापक आलोचना भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो।

सरकारले आर्थिक विधेयक २०८३ मार्फत निजी स्वास्थ्य संस्थामा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लगाउने व्यवस्था गरेको थियो। यसअनुसार निजी अस्पतालमा उपचार गराउने बिरामीले सेवा शुल्कबापत थप ३ प्रतिशतसम्म शुल्क तिर्नुपर्ने अवस्था बनेको थियो।

प्रधानमन्त्री बालेन शाहले फेसबुकमार्फत उक्त निर्णय सार्वजनिक गर्दै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन गर्दा आमनागरिकमाथि थप आर्थिक भार पर्ने र निराशा बढ्ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि यस्तो निर्णय गरिएको उल्लेख गरेका छन्।

उनका अनुसार समता शुल्कको उद्देश्य दुर्गम तथा पछाडि परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित, सिमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु थियो । साथै करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई थप व्यवस्थित बनाउने लक्ष्य पनि रहेको उनले बताएका छन्।

शाहले समता शुल्कप्रति नागरिक तहबाट आएको प्रतिक्रियाप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै नागरिकको हितलाई केन्द्रमा राखेर निर्णय गर्ने र आवश्यक परे सुधार तथा परिमार्जन गर्न सरकार सधैं तयार रहने बताएका छन्।

उनले विपन्न तथा गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले निजी अस्पतालमा १० प्रतिशत बेड तथा निजी क्याम्पस र विश्वविद्यालयमा १० प्रतिशत सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको पनि बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार