
बाजुरा--बाजुराको सर्वाधिक विकट बिच्छ्या क्षेत्रमा नेपाल टेलिकमको फोरजी टावर सञ्चालनमा आएको छ । नेपाल टेलिकमले जिल्लाकै विकट हिमाली गाउँपालिका १ नेटा र वडा नम्बर ५ कुवाडीमा नयाँ टावर जडान गरेपछि सेवा सञ्चालनमा आएको हो ।
यसअघि सामान्य फोन सम्पर्क गर्न पनि राम्रोसँग नेटवर्क नटिप्ने समस्याले हैरानी खेप्दै आएका त्यहाँका स्थानीयहरुले अहिले नयाँ फोरजी टावर जडान भएपछि सहज भएको बताएका छन् । गाउँपालिकाकै सबैभन्दा नेटवर्कको समस्या रहेको नेटा र कुवाडीमा टेलिकमले जडान गरेको नयाँ फोरजी टावर सञ्चालनमा आएसँगै फोरजी चल्न थालेको स्थानीय चन्द्र बुढाले बताए ।
गाउँपालिकाको नेटा र कुवाडीमा नेपाल टेलिकम बाजुराका प्रमुख ई. ईश्वर सिंह, टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियाका इन्जिनियर सुदर्शन आचार्य र प्रदिप साउँद सहितको टोलीले फोरजी टावर जडान गरेको हो ।
बिच्छ्याको नेटामा जडान गरिएको फोरजी टावरले कोट, नेटा, बाम, बौडी, यौना, नातिखोला लगायतका ठाउँसम्म काम गर्न थालेको नेपाल टेलिकम बाजुराका प्रमुख ई. ईश्वर सिंहले बताए । उनले बढ्दो सूचना प्रविधिको प्रयोगसँगै दुर्गम क्षेत्रमा नागरिकहरुलाई सहज सञ्चार सेवा उपलब्ध गराउन बिच्छ्यामा फोरजी सेवा सञ्चालनमा आएको बताए । यो सेवा सञ्चालनसँगै लामो समयदेखि सञ्चार पहुँचबाट वञ्चित रहेका बिच्छ्याका बासिन्दाका लागि सूचना, शिक्षा, स्वास्थ्य र सरकारी सेवामा पहुँच थप सहज हुने अपेक्षा गरिएको टेलिकम प्रमुख सिंहले बताए । यसअघि बिच्छ्या कोटमा रहेको टावरमा समेत फोरजी सेवा जडान गरिएको थियो ।
अब गाउँपालिकाको अन्य वडा भन्दा नेटवर्क समस्या रहेको वडा नम्बर ३ गुम्बामा फोन समेत नलाग्ने गरेको भन्दै तत्काल टावर राख्नु पर्ने स्थानीयहरुले बताएका छन् । गुम्बामा फोन नलाग्दा स्थानीयहरुले सास्ती भोगिरहेका छन् भने पर्यटकीय क्षेत्र रानीसैन जाने आउने पर्यटकहरुलाई समेत समस्या भइरहेको जनाएको छ ।


