बिहिबार, असार २५, २०८३
  • होमपेज
  • अर्थ
  • बाजुरा जिल्लामा मुख्यमन्त्री शाहको गृह पालिकाभन्दा कम बजेट

बाजुरा जिल्लामा मुख्यमन्त्री शाहको गृह पालिकाभन्दा कम बजेट

  • बिहिबार, असार २५, २०८३
सेयर गर्नुहोस् :
बाजुरा जिल्लामा मुख्यमन्त्री शाहको गृह पालिकाभन्दा कम बजेट

बाजुरा– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमा स्रोत वितरणलाई लिएर नयाँ बहस सुरु भएको छ। प्रदेशकै दुर्गम जिल्ला बाजुराले पाएको कुल बजेट मुख्यमन्त्री कमलबहादुर शाहको गृह पालिका लम्कीचुहा नगरपालिकाले एक्लैले पाएको बजेटभन्दा पनि कम रहेको तथ्य सार्वजनिक भएको छ।

आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रमअनुसार बाजुरा जिल्लाका लागि कुल ८२ करोड ४९ लाख रुपैयाँ बराबरका योजना समावेश गरिएको छ। यद्यपि कार्यक्रम पुस्तिकामा बजेट र कार्यक्रम समावेश गर्दा धेरै ठाउँमा त्रुटि भएकाले बजेट रकममा थोरै तलमाथि हुने देखिन्छ।

मुख्यमन्त्री शाहको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने लम्कीचुहा नगरपालिकाले मात्रै ८७ करोड १७ लाख रुपैयाँ बजेट पाएको छ। अर्थात्, एउटा पालिकाले पाएको बजेट सम्पूर्ण बाजुरा जिल्लाको बजेटभन्दा करिब ४ करोड ६८ लाख रुपैयाँ बढी देखिन्छ। बाजुरामा चार नगरपालिका र पाँच गाउँपालिकासहित ९ वटा स्थानीय तहहरु छन् । यो विवरण वार्षिक विकास कार्यक्रम पुस्तिकाबाट तयार गरिएकाले पुस्तकमा भएको त्रुटिका कारण कुल बजेटमा केही फरक पर्ने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्।

मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा बजेटको उच्च प्रवाह भएको देखिएको छ। लम्कीचुहासँगै मोहन्याल गाउँपालिकाले ५२ करोड ५९ लाख र जानकी गाउँपालिकाले ४० करोड ७६ लाख रुपैयाँ बजेट पाएका छन्। यी तीन स्थानीय तहमा मात्रै करिब पौने दुई अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ।

जिल्लागत रूपमा हेर्दा कैलालीले सबैभन्दा धेरै ७ अर्ब २१ करोड ८७ लाख रुपैयाँ बजेट पाएको छ भने बैतडी ३ अर्ब २ करोड १२ लाख रुपैयाँ सहित दोस्रो स्थानमा रहेको छ। डोटी, कञ्चनपुर, डडेल्धुरा, अछाम, बझाङ र दार्चुलाले पनि बाजुराभन्दा उल्लेख्य रूपमा बढी बजेट पाएका छन्।

बजेट वितरणको यही असन्तुलनलाई लिएर सरकारको आलोचना बढिरहेको छ। पहुँच र राजनीतिक प्रभावका आधारमा बजेट बाँडिएको आरोप सत्तारुढ दलकै सांसदहरूले उठाएका छन् भने प्रमुख प्रतिपक्षीसहित सरकारका साझेदार दलका केही सांसदहरूले समेत बजेट संशोधनको माग गरिरहेका छन्।

यद्यपि, मुख्यमन्त्री कमलबहादुर शाहले बजेटमा देखिएका प्राविधिक त्रुटि सच्याएर सहमतिमै पारित गरिने बताएका छन्। तर, बजेट सार्वजनिक भएको तीन साताभन्दा बढी समय बितिसक्दा पनि प्रदेशसभामा बजेटमाथिको छलफल अझै सुरु हुन सकेको छैन। साभारः दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार