
बाजुरा– बडीमालिका नगरपालिका–७ ले महिला हिंसा न्यूनीकरणका लागि हाम्राे भुमिका बिषयाक छलफल कार्यक्रम सम्पन्न भएकाे छ। ७ नम्मर वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा महिला हिंसा अन्त्य, लैङ्गिक समानता, छाउपडी प्रथाको अन्त्य तथा सुरक्षित समाज निर्माणका विषयमा व्यापक छलफल गरिएको हो।
वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव सरिता ठकुल्लाले गरेकी थिइन्। कार्यक्रममा स्थानीय बुद्धिजीवी, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापक, महिला स्वास्थ्य स्वयंसेविका, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष धर्मराज पाध्यायले महिला हिंसा कुनै एक व्यक्ति वा परिवारको मात्र समस्या नभई समग्र समाजको चुनौती भएकाले यसको अन्त्यका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताए। उनले महिलामाथि हुने सबै प्रकारका हिंसा, विभेद र छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न वडा कार्यालय निरन्तर सक्रिय रहेको उल्लेख गर्दै समुदायको साथ र सहभागिताबिना अभियान सफल हुन नसक्ने बताए। उनले भने, “हामीले हिंसामुक्त, विभेदरहित र सभ्य समाज निर्माण गर्ने लक्ष्य लिएका छौं। छाउपडी प्रथा अन्त्य गरी महिलाको सम्मान र अधिकार सुनिश्चित गर्न सबै नागरिकको सक्रिय भूमिका आवश्यक छ।”
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पनि महिला हिंसा न्यूनीकरणका लागि सचेतना अझै बढाउनुपर्ने, कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने तथा छाउपडीजस्ता कुप्रथाको पूर्ण अन्त्य गर्न समुदाय नै अग्रसर हुनुपर्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले वडा कार्यालयले सञ्चालन गरेको अभियान सकारात्मक रहेको भन्दै निरन्तरता दिन आग्रह गरे।
यही असार १८ गते बडीमालिका नगरपालिका–७ लाई “छाउगोठमुक्त वडा” घोषणा गर्ने निर्णय गर्दै सो घोषणा कार्यक्रमको व्यवस्थापन, तयारी र समन्वय सम्बन्धमा विस्तृत छलफल समेत गरेको छ। घोषणा कार्यक्रमलाई प्रभावकारी, सहभागितामूलक र सफल बनाउन सबै सरोकारवालाले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए। वडा कार्यालयका अनुसार महिला हिंसा न्यूनीकरण, लैङ्गिक समानता प्रवर्द्धन तथा छाउपडी प्रथाको अन्त्यका लागि यस्ता सचेतनामूलक कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।


