
काठमाडौं —राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले २०४७ सालयताका सबै नेताको सम्पत्ति छानबिन गर्न पुन: माग गरेका छन् । लगातार शासनमा बसेकाहरूले मुलुकलाई भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुबाएको उनको भनाइ छ ।
‘प्रधानमन्त्री रातदिन भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ भन्ने गर्नुहुन्छ । तर, उहाँकै नेतृत्वमा सरकार चलेको समयको रेकर्ड हेर्ने हो भने सबै छर्लंग भएको छ,’ मध्य माघमा ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक बाचन गर्दै सांसद् ढकालले ‘उहाँले आफ्नालाई जोगाउँदै र विपक्षीलाई अनाहाकमा दुःख दिँदै आउनुभएको छ ।’
२०४७ सालपछिका दलका नेतालाई अनुसन्धानको दायरामा ल्याउन माग गर्दै उनले छानबिन गर्ने हो भने कसैले पनि टाउको लुकाउने ठाउँ नभेटिने टिप्पणी पनि गरे । ‘हाम्रो पार्टीका अध्यक्ष (रवि लामिछाने)लाई जति होइन, अलिकति मात्रै अनुसन्धानमा ल्याएमा टाउको लुकाउने ठाउँ भेटिनेछैन,’ उनले भने ।
