महेन्द्रनगर — नेपालको सीमावर्ती बजार खटिमामा छोराले कुटपिट गरी आफनै बुबाको हत्या गरेका छन्। आमा गम्भीर घाइते छिन्। पारिवारिक विवादका कारण छोराले खटिमाको श्रीपुर बिछुवामा लाठी प्रहार गरी बुबाआमालाई गम्भीर घाइते बनाएका थिए।
उपचारको क्रममा बुबाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। आमाको अवस्था भने चिन्ताजनक छ। बिहीबार राति श्रीपुर बिछुवाका ७० वर्षीय धर्मसिंह बोहरा र छोरा लक्ष्मण सिंहबीच विवाद भएको थियो। विवाद बढ्दै गएपछि लक्ष्मणले बुबालाई लाठीले कुटेका थिए। उनको टाउकोमा गहिरो चोट लागेको थियो। उद्धार गर्न गएकी आमा भवानीदेवीलाई पनि लक्ष्मणले लाठीले कुटपिट गरेका थिए। दुवैलाई छिमेकीले सिभिल अस्पताल पुर्याए । तर, चिकित्सकले धर्मसिंहलाई मृत घोषणा गरे।
घाइते भवानीदेवीको उपचार भइरहेको छ। घटनाको जानकारी पाएपछि प्रहरीले घटनास्थल पुगेर लक्ष्मण सिंहलाई नियन्त्रणमा लिएको छ। प्रहरीले पोष्टमार्टमपछि शव आफन्तलाई बुझाएको छ।साभार दिनेशखबर ।