बैतडि– बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले उनकै सहपाठीलाई पक्राउ गरेको छ । भागरथीको छिमेकीसमेत रहेका उनलाई बुधबार सार्वजनिक गर्ने तयारी छ ।
भागरथीका काका शिवराजले भने भागरथी बेपत्ता भएको दिनदेखि हामी खोजीमा थियौँ । छिमेकी एउटा केटो केही डराए–डराएजस्तो देखिन्थ्यो । उसले बलात्कार र हत्या आफैँ गरेको वा देखेको हुन सक्ने हाम्रो विश्वास थियो । उसको असामान्य गतिविधि देखेर हामीले पनि निगरानी गरिरहेका थियौँ ।
भागरथीको बलात्कार र हत्याको विरोधमा भइरहेका विरोध प्रदर्शनमा पनि ऊ जाने गरेको थियो । समाजमा उसको पृष्ठभूमि नकारात्मक थियो । भागरथी र उसको घर नजिकै थियो, तर सम्बन्ध राम्रो थिएन । त्यसैले उसको परिवार बसाइँ सरेर एक किलोमिटर पर एकान्तमा गएको थियो । अहिले पुरानो रिसइबीको बहाना बनाएर यत्रो जघन्य अपराध गरेको छ । हामी धेरै दुःखी छौँ । त्यस्ता अपराधीलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ,शिवराजले भने ।