
तेहरान – इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारीजानी मारिएको दाबी गरेका छन्। एक आधिकारिक वक्तव्य सार्वजनिक गर्दै उनले इरानको सुरक्षा संरचनामा रहेका उच्च तहका नेता लारीजानीको मृत्यु भएको सूचना आफूहरूले प्राप्त गरेको बताएका हुन्।
तर इजरायलको उक्त दाबीलाई इरानतर्फका सञ्चारमाध्यमहरूले अस्वीकार गरेका छन्। इरानका प्रमुख समाचार एजेन्सी ‘तस्नीम’ र ‘मेहर’ ले लारीजानी सकुशल रहेको र उनले चाँडै नै सार्वजनिक सन्देश दिने तयारी गरिरहेको उल्लेख गरेका छन्।
को हुन् अली लारीजानी ?
अली लारीजानी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रभावशाली व्यक्तित्वका रूपमा चिनिन्छन्। उनलाई अगस्ट २०२५ मा राष्ट्रपति मसूद पेजेशकियानले परिषद्को सचिवका रूपमा नियुक्त गरेका थिए। साथै उनी तत्कालीन सर्वोच्च नेता आयतुल्लाह अली खामेनीका प्रतिनिधिका रूपमा पनि जिम्मेवारीमा रहेका थिए।
इरानको सुरक्षा तथा विदेश नीतिसँग सम्बन्धित महत्वपूर्ण निर्णय प्रक्रियामा लारीजानीको भूमिका प्रभावशाली मानिन्छ। यदि इजरायलको दाबी पुष्टि भएमा यसले इरानको सुरक्षा रणनीतिमा ठूलो असर पार्न सक्ने विश्लेषण गरिएको छ।


