बुधबार, असार १०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • नदीकिनारको थप २० मिटर छाड्नुपर्ने फैसलाविरुद्ध सरकार ‘भ्याकेट’मा जाने

नदीकिनारको थप २० मिटर छाड्नुपर्ने फैसलाविरुद्ध सरकार ‘भ्याकेट’मा जाने

  • सोमवार, भदौ २४, २०८१
सेयर गर्नुहोस् :
नदीकिनारको थप २० मिटर छाड्नुपर्ने फैसलाविरुद्ध सरकार ‘भ्याकेट’मा जाने

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वाेच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने बताएका छन् ।

उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले अदालतको आदेश व्यहारिक नदेखिएकाले पुनरावलोकनमा जाने बताएका हुन् ।

उनले स्थानीय जनता र सरोकार समूहका मुद्दा सम्बोधन गर्न सरकार तत्पर रहने स्पष्ट पारे ।

अदालतले जनताका पीरमर्कालाई बुुझ्ने र न्याय दिने उनले बताएका छन् । ओलीले अदालतको आदेशमा बदनियत नदेखिए पनि यसले जनतालाई असर पार्ने धारणा राखे। अदालतको अहिलेको आदेशपछि जनतालाई मुआब्जासमेत दिन सक्ने अवस्थामा राज्य नरहेको उनको भनाइ छ ।

ओलीले सभ्यता र संस्कृतिलाई बिथोल्न अनेकथरी तत्वहरू लागेका हुन सक्ने भन्दै राष्ट्रिय एकता र अस्तित्व बलियो बनाउनुपर्ने बताएका छन् ।

अदालतको फैसलाको पूर्ण पाठ आएपछि काठमाडौँ महानगरपालिकाका प्रमुखस्तरको गत साउन २४ गतेको निर्णयबाट नदी किनारबाट थप २० मिटरसम्म संरचना नबनाउन सूचना गरिएको थियो ।

सङ्घर्ष समितिका संयोजक सुमन सायमीले अदालतको फैसला र सूचना कार्यान्वानमा जाँदा लाखौँ जनता विस्थापित हुने र सम्पतिको सुरक्षा नहुने भएकाले फैसलामा पुनरावलोकन गर्न र नगरप्रमुखको सूचना कार्यान्वयन नगर्न माग गरे ।

उक्त फैसला गर्ने न्यायाधीशमाथि महाभियोग लगाउनसमेत समितिले माग गरेको छ । उपत्यकाबासी रैथाने समुदायमाथि न्यायालयबाट बारम्बार प्रहार भइरहेकोले यो सिलसिलाको अन्त्य हुनुपर्ने समितिले जनाएको छ ।

‘यो शिलशिलाको अन्त्य गर्न सर्वोच्चका न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र विनोद शर्माले समाजको मनोविज्ञान नबुझी धर्म, संस्कृति, सभ्यता र पहिचानमाथि कठोर र निर्मम प्रहार गरेक‍ाले संविधानको मर्मबाहिर गएर गरिएको फैसलामा दुवैमाथि महाअभियोग लगाउनु पर्ने हाम्रो माग छ’, सायमीले भनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार