• होमपेज
  • शिक्षा
  • प्राथमिकताको आधारमा शिक्षक सरुवा गरिने

प्राथमिकताको आधारमा शिक्षक सरुवा गरिने

  • सोमवार, जेष्ठ १४, २०८१
प्राथमिकताको आधारमा शिक्षक सरुवा गरिने

काठमाडौं —अबदेखि शिक्षक सरुवा प्राथमिकताको आधारमा गरिने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ ले शिक्षक सरुवाका लागि विभिन्न प्राथमिकताका आधार तोकेको हो ।

जसअनुसार पहिलो प्राथमिकता कार्यरत रहेको विद्यालयको सम्बन्धित तहमा सबैभन्दा बढी स्थायी सेवा गरेको अवधिलाई मानिएको छ ।

दोस्रो प्राथमिकता बमोजिम प्राथमिकतक्रम निर्धारण हुन नसकेमा हालको पदमा सबैभन्दा बढी स्थायी सेवा गरेको जम्मा अवधिको आधारमा गरिने जनाइएको छ ।

तेस्रो प्राथमिकता पहिलो र दोस्रो बमोजिमसमेत प्राथमिकताक्रम निर्धारण हुन नसकेमा हालको पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो तहको सम्बन्धित विषयको शैक्षिक योग्यताको प्राप्ताङ्कको प्रतिशत वा ग्रेडको आधारलाई मानिएको छ ।

पहिलो, दोस्रो र तेस्रो बमोजिमसमेत प्राथमिकताक्रम निर्धारण हुन नसकेमा गोला प्रथाबाट छनोट गरेको आधारमा सरुवा गरिने निर्देशिकामा उल्लेख छ ।

प्राथमिकताको लागि तोकिएको मापदण्डको लागि सेवा अवधिको गणना गर्दा सम्बन्धित विद्यालयमा हाजिर भएको मितिदेखिको अवधिलाई गणना गर्नुपर्ने निर्देशिकाले जनाएको छ । त्यसको लागि निवेदक शिक्षकहरूको प्राथमिकताक्रम सूची तयार पारी प्रधानाध्यापकले प्रमाणित गर्नुपर्नेछ ।

सरुवाका लागि निवेदन दिने म्याद समाप्त भएको मितिले तीन दिनभित्र प्राथमिकताक्रम सूचीमा सबैभन्दा अगाडिको प्राथमिकताक्रममा परेका निवेदक शिक्षकलाई विद्यालयबाट निर्णय गरी सरुवा सहमति प्रदान गर्नुपर्नेछ ।

शिक्षक सरुवाका लागि सहमति दिँदा वा सरुवा गर्दा शिक्षकबाट कुनै पनि प्रकारको शुल्क वा सहयोग लिन वा दिन नपाइने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्वीकृत गरेको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ सरुवाका लागि सहमित दिँदा वा सरुवा गर्दा शिक्षकबाट कुनै पनि प्रकारको शुल्क वा सहयोगको रूपमा नगद वा जिन्सी लिनुदिनु नहुने उल्लेख गरिएको छ ।

यदि निर्देशिका विपरीत कसैले शुल्क वा सहयोग लिएको पाइएमा लिने, दिने दुवैलाई कानून बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार