शुक्रबार, असार २८, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

  • शनिबार, बैशाख ८, २०८१
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा दिउँसो सुरु हुने बैठकमा देशभरका एमालेका झण्डै २५ सय अगुवा नेता कार्यकर्ता सहभागी हुनेछन् ।

बैठकमा प्रधानमन्त्री तथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई अतिथिको रुममा आमन्त्रण गरिएको छ । प्रचण्ड र देउवाले विशेष वक्ताका रूपमा सम्बोधन गर्नेछन् ।

बैठकमा मिसन ग्रासरुट संगठन सुदृढकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरेको झुलाघाट–चिवाभज्याङ यात्राको समीक्षा हुने महासचिव शंकर पोखरेलले जानकारी दिए । यसैगरी आगामी दिनमा वार्षिक कार्ययोजनाहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि समीक्षा हुनेछ ।

एमालेका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यस्तै, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

एमालेले प्रतिनिधि परिषद्को बैठकलाई प्रविधिमैत्री बनाउने भएको छ । बैठकमा सहभागी हुने प्रतिनिधिले आफ्नो परिचयपत्र र नेताहरूले प्रस्तुत गर्ने दस्ताबेज मोबाइल एपबाटै हेर्न सक्ने व्यवस्था मिलाएको एमालेले जनाएको छ । बैठकमा सहभागीहरूको सुझाव समेत एपबाटै लिने व्यवस्था मिलाइने छ । बैठक वैशाख १० गतेसम्म चल्नेछ ।

चर्चामा

सम्बन्धित समाचार