शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • समाजवादी मोर्चामा एमालेलाई समेट्ने प्रयास, ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्ड र नेपाललाई

समाजवादी मोर्चामा एमालेलाई समेट्ने प्रयास, ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्ड र नेपाललाई

  • शुक्रबार, चैत्र ९, २०८०
समाजवादी मोर्चामा एमालेलाई समेट्ने प्रयास, ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्ड र नेपाललाई

काठमाडौँ — नेकपा माओवादी केन्द्रसहितको चार दलीय समाजवादी मोर्चामा एमालेलाई पनि समेटेर अघि बढ्ने विषयमा छलफल भएको छ । सत्ता गठबन्धनमा एमालेको इन्ट्री भएसँगै सो पार्टीलाई पनि समाजवादी मोर्चामा समेट्न पहल भएको हो ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले एमालेका शीर्ष नेताहरूसँग आवश्यक छलफल गरी आगामी कार्यक्रमबारे टुङ्गोमा पुग्ने निर्णय भएको संयोजक नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए ।

अब एमालेसहितको मोर्चा बनाउन चार दलले पहल गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी ओलीसँग थप छलफल गर्ने बैठक निर्णय गरेको छ ।

‘यसअघि स्थगित भएको अन्तरक्रिया कार्यक्रमलाई सञ्चालन गर्ने विषयमा आज छलफल भयो । यसैगरी समाजवादी मोर्चालाई अन्य दलसँग पनि कसरी जोड्ने भन्नेबारे छलफल केन्द्रित भयो । यस विषयमा एमालेसँग प्रधानमन्त्री र माधव नेपालले कुराकानी गर्नुहुन्छ । एमालेसमेत बसेर अन्तर्क्रिया कार्यक्रम टुङ्ग्याउने गरी बैठक स्थगित भयो ’, उनले भने ।

यसअघि बसेको मोर्चाको बैठकले चैत तीन गते काठमाडौँमा अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । तर यसबिचमा सत्ता समीकरण बदलिएपछि सो कार्यक्रम स्थगित भएको थियो ।

यसैबिच बिहीबार मात्रै एमालेलाई मोर्चामा ल्याउने विषयमा संयोजक विप्लवले ओलीसँग २ घण्टा लामो कुराकानी गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार