सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • स्वतन्त्र सांसद जोशीलाई मन्त्री बन्न मुख्यमन्त्री शाहको प्रस्ताव

स्वतन्त्र सांसद जोशीलाई मन्त्री बन्न मुख्यमन्त्री शाहको प्रस्ताव

  • मङ्लबार, चैत्र ६, २०८०
स्वतन्त्र सांसद जोशीलाई मन्त्री बन्न मुख्यमन्त्री शाहको प्रस्ताव

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार धनगढी आयोजित एक सार्वजनिक कार्यक्रममै स्वतन्त्र सांसद डा.तारा जोशीलाई मन्त्री बन्न प्रस्ताव गरेका छन् ।

क्याप्टेन वेद उप्रेतीद्वारा लिखित ‘दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ नामक पुस्तक विमोचन कार्यक्रममा मुख्यमन्त्री शाहले सो प्रस्ताव गरेका हुन् ।

लेखकले सो पुस्तकमार्फत सुदूरपश्चिमलाई समृद्ध र प्रगतिशील क्षेत्रका रूपमा विकास गर्न सकिन्छ भन्ने विश्वासलाई फोटोग्राफी विवरणका रूपमा चित्रण गरेका छन् । पुस्तकको सो भावमाथि स्वतन्त्र सांसद जोशीले मन्तव्य राखेका थिए ।

त्यसपछि पुस्तकको चर्चा गर्दै मुख्यमन्त्री शाहले आफूहरूको परिकल्पना नै समृद्ध र सुसम्पन्न सुदूरपश्चिम रहेको बताएका थिए । जसलाई साकार पार्न आफूलाई साथ सहयोग चाहिएको मुख्यमन्त्री शाहको भनाइ थियो ।

मुख्यमन्त्री शाहले भने, ‘मेरो आग्रह छ डा.तारा जोशी सरलाई, आउनुहोस् सँगै जाऔँ, एउटै क्याबिनेटमा आउनुहोस् । तपाईंको विद्वता हामीलाई चाहिएको छ । तपाईंको साथ हामीलाई चाहिएको छ । यस्ता यस्ता व्यक्तिको साथ र सहयोगमा हामी अगाडि बढ्न चाहन्छौँ ।’

मुख्यमन्त्री शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा रहेको छ । शाह नेतृत्वको सरकारलाई सुविधाजनक बहुमतका लागि २ सिटको कमी छ । सरकारका लागि स्वतन्त्र सांसद डा.तारा जोशी र राप्रपाकी सांसद खिमादेवी विष्टको समर्थन आवश्यक छ ।

बहुमतको प्रदेश सरकार गठनका लागि २७ जनाको आवश्यक पर्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाको निधन भएपछि हाल ५२ जना सदस्य रहेका छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् ।

चर्चामा

सम्बन्धित समाचार