बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • दक्षिण सुडानमा शान्ति मिसनको क्याम्पमा आक्रमण, नेपाली टोली सकुशल

दक्षिण सुडानमा शान्ति मिसनको क्याम्पमा आक्रमण, नेपाली टोली सकुशल

  • सोमवार, माघ १५, २०८०
दक्षिण सुडानमा शान्ति मिसनको क्याम्पमा आक्रमण, नेपाली टोली सकुशल

दक्षिण सुडानको अबेई क्षेत्रमा हतियारधारी समूहले आक्रमण गर्दा संयुक्त राष्ट्रसंघको शान्ति मिसनको एक सदस्यसहित ५२ जना सर्वसाधारणको मृत्यु भएको छ । अन्य ६४ जना घाइते भएका छन् ।

बन्दुकधारीको समूहले २७ जनवरी शनिबारको दिन श्रृङ्खलाबद्ध आक्रमण गरेको थियो । न्यिनकुआक, मजबोङ र खादियन क्षेत्रमा साम्प्रदायिक हिंसा भएको थियो । हतियारधारी समूहले अगोकमा रहेको संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलको क्याम्पमा समेत आक्रमण गरेको थियो । ती आक्रमणमा परी ५२ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले जनाएको छ ।

अबेईका लागि संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलले पनि बन्दुकधारीको आक्रमणबाट शान्ति मिसनमा खटिएका घानाका एक जना सदस्यको मृत्यु भएको पुष्टि गरेको छ । ‘सो आक्रमणलाई शान्ति सैनिकको टोलीले विफल पारेको थियो । तर दुःखका साथ भन्नु परेको छ आक्रमणमा परी शान्ति मिसनमा खटिएका घानाका एक जना सैनिकको मृत्यु भयो,’ संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उसले आक्रमणको निन्दा पनि गरेको छ ।

तेल भण्डार भएको अबेईलाई सुडान र दक्षिण सुडान दुवैले दाबी गर्दै आएका छन् । तर यो क्षेत्र हाल दक्षिण सुडानको नियन्त्रणमा छ । स्थानीय अधिकारीका अनुसार शनिबार साँझ ४ः४५ बजेतिर बन्दुकधारी समूहले आक्रमण गरेको थियो । आक्रमणको कारण खुलेको छैन । तर भूमि विवाद नै कारण हुन सक्ने अनुमान छ ।

साम्प्रदायिक दंगा भइरहने अबेई क्षेत्रमा नेपाली शान्ति सैनिकको ९७ जनाको टोली पनि खटिएको छ । तर नेपाली टोली सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । ‘आक्रमणमा घानाको एक सदस्यको मृत्यु भएको जानकारीमा आएको छ । हाम्रो टोली भने सुरक्षित छ,’ प्रवक्ता भण्डारीले अनलाइनखबरसँग भने ।

अबेई क्षेत्रमा जातीय हिंसा सामान्य जस्तै छ । यहाँका आदिवासी समुदायबीच भूमि विवाद पनि छ । सो क्षेत्रका बहुसंख्यक नगोक डिंका समुदायले दक्षिण सुडानको पक्ष लिन्छन् भने मिसेरिया खानाबदोश समुदायले सुडानको पक्ष लिन्छन् । त्यसैले त्यहाँ बेला–बेला हिंसा भइरहन्छ ।

अफ्रिकी संघले अबेईको विवाद टुंगो लगाउन जनमत संग्रहको प्रस्ताव गरेको थियो । मतदानमा सहभागीताको विषयमा सहमति नजुटेपछि नतिजा निस्किएको छैन ।

गत वर्ष मार्चमा संयुक्त राष्ट्रसंघले अबेई क्षेत्रमा शान्ति सैनिक तैनाथ गरेको थियो । त्यसपछि पनि साम्प्रदायिक हिंसा रोकिएको छैन ।

सन् २०२३ मा पनि सो क्षेत्रमा आक्रमण हुँदा ३२ जनाको मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार