बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिममा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि

सुदूरपश्चिममा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि

बाजुराका एक जनामा सङ्क्रमण पुष्टि

  • सोमवार, पुस ९, २०८०
सुदूरपश्चिममा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि

कैलाली  —पछिल्लो समय कोरोना सङ्क्रमण पुनः फैलिने खतरा बढेको छ । केही दिनयता भारतबाट आइरहेकाहरूमा कोरोना सङ्क्रमण देखिन थालेको त्रिनगर हेल्थ डेस्कका इन्चार्ज गणेश साउदले जानकारी दिए ।

अहिलेसम्म भारतबाट आएका सात जनामा कोरोना सङ्क्रमण देखिएको उनले बताए । सात जनामध्ये बाजुरा र अछामका १–१, कञ्चनपुरका ३ र कैलालीमा २ जना रहेका छन् । भारतबाट आउनेहरूमध्ये अधिकांश बेङ्लोरबाट आउनेहरूमा कोरोना सङ्क्रमण देखिएको उनले बताए । भारतमा पछिल्लो समय कोरोना सङ्क्रमण बढिरहेपछि त्यहाँबाट आउनेहरूसँगै कोरोना सङ्क्रमण भित्रन सक्ने खतरा बढेको छ ।

अहिले पनि दैनिक रूपमा सयौं जना भारतबाट नेपाल आइरहेका छन् । उनीहरूमध्ये आधाको मात्रै परीक्षण हुने गरेको छ ।

‘हामीले दैनिक ४०-५० जनाको परीक्षण गर्छौं’, इन्चार्ज साउदले भने, ‘पछिल्लो केही दिनयता दैनिक रूपमा संक्रमण देखिन थालेको छ ।’

६ महिनादेखी सङ्क्रमण फेला नपरेको सीमा नाकामा केही दिनदेखि कोरोना देखिएपछि कडाइ गरिएको छ । अहिलेसम्म ७ मध्ये ४ जनाको स्वाब थप परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौं पठाइएको छ । कुन भेटियन्ट हो भन्ने विषयमा थप परीक्षण गर्न प्रदेश प्रयोगशालामार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको इन्चार्ज साउदले बताए ।

पछिल्लो समय भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएपछि नेपालमा पनि त्यो भित्रिन सक्ने खतरा बढेको छ । विश्व स्वास्थ्य सङ्गठनले कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार