बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इजरायलमा सुदूरपश्चिमका विद्यार्थीको दर्दनाक पीडा, ७ जना मारिए

इजरायलमा सुदूरपश्चिमका विद्यार्थीको दर्दनाक पीडा, ७ जना मारिए

  • मङ्लबार, अशोज २३, २०८०
इजरायलमा सुदूरपश्चिमका विद्यार्थीको दर्दनाक पीडा, ७ जना मारिए

धनगढी– सुदूरपश्चिमबाट अध्ययनका लागि इजरायल गएका ७ विद्यार्थी मारिएका छन्। इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परेर सुदूरपश्चिमबाट गएका ७ विद्यार्थी मारिएका हुन्। मारिनेमा सबै छात्र हुन्। इजरायलस्थित नेपाली दूतावासले आइतबार विज्ञप्ति जारी गरेर सुदूरपश्चिमका ७ सहित १० जना मारिएको पुष्टि गरेको छ। एक जना बेपत्ता छन्। घाइते चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने दुई जना सकुशल छन्।

मृतकको शव नेपाल पठाउनका लागि इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको नेपाली दूतावासले जनाएको छ। मारिनेमा घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी नगरपालिका–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी रहेका छन्।

स्थानीय अस्पतालमा टीकापुर–९ कैलालीका धनबहादुर चौधरीको उपचार भइरहेको छ। साथै भीमदत्त नगरपालिका–३ कञ्चनपुरका विपिन जोशी बेपत्ता छन भने त्रिशक्ति–४ भजनी कैलालीका वीरेन्द्र चौधरी सुरक्षित छन्। ती विद्यार्थीहरू गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए।

उनीहरू सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन्। सो विश्वविद्यालयले सेदोत नेगेभ कृषि तालिम केन्द्रमा ४९ जना नेपाली विद्यार्थीहरू पठाएको थियो। जसमध्ये ११ जना छात्रा छन्। ४९ जना विद्यार्थीहरूलाई ६ वटा समूहमा विभाजन गरी अलग–अलग कृषि फार्ममा पठाइएको थियो। ३२ जना कृषि विद्यार्थीहरू भने विभिन्न कृषि फार्ममा रहेको बंकरमा सुरक्षित छन्।

आइतबार साँझतिर एकाएक इजरायलमा भएको आक्रमणमा मृत्यु भएकाहरुको सूची सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छाएको थियो। मृतकको सूचीमा कैलालीका दुई जना विद्यार्थीको नाम पनि थियो। मृत्यु हुने १० जनामध्येको विवरणमा थियो, घोडाघोडी नगरपालिका–४ जनकपुरका नारायणप्रसाद न्यौपाने र बर्दगोरिया गाउँपालिका–३ का आशिष चौधरीको। बाल्यकालमै जन्मदिने आमा गुमाएका नारायणलाई कान्छी आमाले कर्म दिइन्, हुर्काइन्, बढाइन् र पढाइन्।

नारायण टीकापुरमा रहेको सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा स्नातक अध्ययन गर्न थालेको तीन वर्ष भयो। हरिकृष्णका तीन छोरामध्ये नारायण माइला हुन्। नारायणका जेठा दाजु परिवारसहित भारतको बंग्लोरमा छन्। कान्छो भाइ सानै उमेरका छन्। उनी सुरुदेखि नै पढाइमा निकै अब्बल थिए। घरपरिवारले अब लास भएपनि चाँडोभन्दा चाँडो ल्याउन पहल भइदिए हुन्थ्यो भन्ने अपेक्षा परिवारको छ।

द्वन्द्वको चपेटामा परेका लोकेन्द्रबहादुर विष्टसहितका नौ जना विद्यार्थीहरूको तत्काल सुरक्षित ढंगले नेपाल ल्याउन परिवारले आग्रह गरेका छन्। हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिकै रहेका उनीहरू आक्रमणको सिकार हुने डरले आत्तिइरहेकाले तत्काल सुरक्षित ढंगले उद्धार गर्न मन्त्री एनपी साउदलाई आग्रह गरिएको लोकेन्द्रकी काकी चन्द्रा विष्टले बताइन्। सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका लोकेन्द्र, रमेश कार्कीसहितका नौ जना विद्यार्थीहरू अध्ययनका लागि इजरायल गएका थिए।

नेपालीहरू बंकर रहेको स्थानबाट करिब २५५ किलोमिटर भित्र रहेकाले उनीहरूलाई यथाशीघ्र बंकरमा पठाउन पहल गर्नका लागि सरकारसँग आफन्तहरूले आग्रह गरिरहेका छन्। भदौ २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आशिष चौधरी इजरायल गएका थिए।

२५ वर्षीय आशिष सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि विज्ञान संकायबाट बिएस्सी एग्रिकल्चरको अध्ययन सकेर इजरायल गएका थिए। कैलालीको जोशीपुर गाउँपालिका–५ का आशिष इजरायलमै मारिएका छन्। आशिष ११ महिनापछि इजरायलबाट फर्किने गरी गएका थिए।
छोरासँग सम्पर्क टुटेपछि जोशी परिवारमा रुवावासी
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ। शनिबारपछि छोरासँग सम्पर्क नभएकाले आमा पदमा निकै चिन्तामा छिन्। शिक्षण पेशामा संलग्न उनका आमाबुबा बैतडीको रिमबाट केही वर्षअगाडि भीमदत्त नगरपालिका–३ मा बसाइँ सरेका थिए। आमा पदमा बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयमा पढाउछिन्।

बुबा शिक्षणको क्रममा बझाङमा छन्। आमा र छोरी मात्रै भीमदत्त नगरपालिका–३ मा बसोबास गर्छन्। विपिन गत भदौ अन्तिम साता ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् इजरायल गएका थिए। शनिबारदेखि बेपत्ता उनको अवस्था अझै अज्ञात छ। परिवारले चाँडो खोजी उद्धार गरेर घर फिर्ता ल्याउन सरकारलाई आग्रह गरेको छ। इजरायलविरुद्ध प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आतङ्कवादी आक्रमणमा १० नेपाली विद्यार्थी मारिएका छन्।

चर्चामा

सम्बन्धित समाचार