शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • भाउजुले बनाएर खुवाएको कफी र त्यो विहानको भेट नै अन्तिम भयो !

भाउजुले बनाएर खुवाएको कफी र त्यो विहानको भेट नै अन्तिम भयो !

  • शुक्रबार, जेष्ठ १२, २०८०
भाउजुले बनाएर खुवाएको कफी र त्यो विहानको भेट नै अन्तिम भयो !

कुरा जेष्ठ ५ गते विहानको हो । घरायसी काम गर्ने सिलसिलामा लडेर हात भाँचिएर उपचार गर्न आउनुभएका दाजु शंकलाल गिरी जगन्नाथ गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष ऐना गिरीको कोल्टी बजारको घरमा बस्नु भएछ । छोरा बसन्त गिरीलाई मोटरसाइकल पठाएर उपचार गराउन सहयोग गर्नु भएछ । लडेर हात भाँचिएर उपचार गर्न आएको खबर थाहा पाएर म र भतिज मनवीर गिरी भाउजु ऐना गिरीको घरमा विहान करिव ७ बजेतिर पुग्यौं । त्यहाँ जाँदा घरको आँगनमा बसीरहनुभएको थियो । छोरा र आफन्तसंग गफ गरिरहनुभएको थियो ।
भाउजुलाई मैंले ढोग गरें । बाबु सञ्चै हुनुहुन्छ भन्नु भयो । अनि हजुर सञ्चै भाउजु भनेर सोधें ठीकै छ भन्नु भयो । दाजु शंकलाल गिरीको हातमा प्लाष्टर गरेर कुर्सीमा बस्नु भएको थियोे । हात कसरी भाँचियो ? अहिले कस्तो छ ? भनेर सोत्तन आयौं भनेर भनें । त्यसै विचमा भाउजुले घरभित्र पसेर दुईवटा कुर्सी निकाल्नु भयो । म र भतिज मनवीर गिरी बस्यौं । बाबु चिया खाउँ भन्नु भयो । भरखरै चिया खाएर आयौ. पर्दैन भनेर भन्यौं । चिया खाएर आउनु भएको भए कफी खाउँ भनेर कफी बनाउन भान्साभित्र पस्नु भयो । भेटघाट कमै हुन्छ घरमा आएको बेला खाना खाउर जानुहोस खाना खान नभ्याउने भए कफी खाएर जानुहोस भन्नु भयो । हामीले कफी खायौं । आखिर त्यो बनाएर खुवाउनु भएको कफी र भेट नैं भाउजुसंगको अन्तिम रहेछ ।
सामाजिक काम बाहेक फाट्टफुट्ट समाजसंग घुलमिल हुने बाँकी समय घरायसी काममा व्यस्त हुने मृदुभाषी, साधाजीवनशैली, मिलनसार, लगनशील, संघर्षशील एवं साहसिक महिला नेतृ, जगन्नाथ गा.पा.की पहिलो जननिर्वाचित उपाध्यक्ष आदरणीय भाउजु ऐना गिरी ५ गते बेलुकातिर विरामी भएर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्रले रिफर गरेछ । जेष्ठ ६ गते हवाइजहाज नआउने निश्चित भएपछि विहानै जीप रिजर्भ गरेर सुविधासम्पन्न स्वास्थ्यकेन्द्रमा लैजाने क्रममा डोटीको साझघाट बाटोमैं मृत्यु भएछ । मृत्युको खबर सामाजिक संञ्जाल, फेसबुक र फोन मार्फत जानकारी आदानप्रदान भैरहेको रहेछ ।
धार्मिक, सामाजिक र घरायसी कामको सिलसिलामा जेष्ठ ६ गते एकाविहानै जगन्नाथ गाउँपालिका-१ ओखरतलामा म गएको थिएँ । त्यो दिन मात्र होकी सधै हो राम्रोसंग फोन लागेको थिएन । काममा व्यस्त हुनाले नेट पनि चलाउने कुरै भएन । करिव दिउँसोको २ बजेतिर काम सकेर घर फर्किने क्रममा दाजु शंकलाल गिरीलाई धेरै प्रयासको फोन डायलपछि बल्ल फोन लाग्यो । मैंले भने हातको विरामका कारण आउन सक्नुभएन । म पनि ढाडाकोट आउन सकिन यतैबाट फिर्ता हुन्छु । हातको अवस्था कस्तो के छ ? भनेर कुरा गरें । जवाफमा दाजु शंकलाल गिरीले भन्नु भयो ः भाई मेरो हात ठीक छ । औंला चलिराछन । दुखाइ पनि कम भएकोछ । मेरो हात त ठीक भैहाल्छ अहिले भख्खरै अच्चम्मको खबर सुनियो भाई ! के कुरा भनें भन्न अक्कमक्क हुनु भयो । दाजु भन्नु न के कुरा हो ? अलि डाँडातिर फर्केर फोन राम्ररी सुनिन्छ की भनेर खुल्दुली मेटाउने प्रयास गरें । म लडेर हातमा चोट लाग्यो उपाध्यक्ष बुहारीले नातीलाई मोटरसाइकल पठाएर औषधी गरेंर आउनजान सहयोग भयो । बेलुका घरमा बसेर खाना खाएर आएँ । अहिले नराम्रो कुरा सुनियो । विहान गाडमिा औषधी गर्न लिएर डोटमिा मृत्यु भयो भन्ने खबर आयो ! अच्चम्म भयो । दाजु एकपटक बुझ्छु भनेर फोन काटें । मैंले पहिला घरका परिवारजनलाई बझ्न दाजु जयलाल गिरीलाई फोन हाने सम्पर्क हुन सकेन भन्यो । भतिज बसन्तलाई फोन गरे सम्पर्क हुन सकेन । भतिज हेमन्तको फोन सेफरहेन छ । अनि जेठा दाजु धनलाल गिरीलाई धेरै पटकको प्रयासपछि फोन लाग्यो ढीलो उठाउनु भयो । भाई म पछि फोन गरौंला गाडीमा छु । फोन सुनिएको छैन भनेर फोन काट्नु भयो । त्यसै क्रममा पालैपालो गरेर मलाई फोन काठमाडौंबाट मेरो कान्छी बहिनी गोमा, कैलालीबाट बहिनी गौरा र बम्बईबाट बहिनी नौराले फोन गरिन । भाउजु वितेको साँच्चै हो की के हो ? श्रद्घाञ्जली फेसबुकमा हालेको छ हजुरलाई थाहा छ की छैन ? मैंले जवाफ दिएँ हिजोविहानसम्म ठीकै हुनुहुन्थ्यो । कफी बनाएर खाएर आएँ । भलाकुसारी भएको हो । बुझेर खबर गरोैला भनेर फोन राखें । रुखको ढल्न्याँ पालो र बतासको लाग्न्या पालो भने झैं सबै ठाउँबाट नराम्रै कुरा सुनियो । फेसबुक चलाउँ भनेर फोरजी खोलें चलेन ।
बेलुका कोल्टी बजार पुग्दा त हल्लाखल्ला सुने । साझ परिसकेको थियो म रेडियोमा पुगेर वाइफाइ चलाएर हेर्दा त सामाजिक सञ्जाल फेसबुकमा श्रद्घाञ्जलीको ओइरो ।
म बढा अच्चम्ममा परें । धेरै पटक सोचें । आखिर जिन्दगी के रैछ त ? के लिनु छ ? के दिनु छ ? हिजो सञ्चै देखेको भाउजु आज छैनन । आज सकुशल भएको मान्छे भोली छैन । हिजो भाउजुले बनाएर खुवाएको कफी अनि भेटघाटमा भएको भलासुकाली आखिर अन्तिम भयो त ? मनमनै सोचें अनि अघिल्लो विहान भएको भलासुकाली सम्झिएँ । भाउजुले बनाएर दिएको कफीको चुस्कीसंगै मैलै सोधें ः भाउजु आजभोली स्वास्थ्यमा कस्तो छ ? कहिलेकाँही मात्र भेटघाट हुन्छ । दाजु कता हुनुहुन्छ ? दुबै बाबु त यतै छन भनेर मैंले सोधें । भाउजुले भन्नु भयो ः बाबु मलाई आजभोली सञ्चै छ । हजुराका दाजु गाउँतिरै हुनुहुन्छ । अघिल्लो महिना काठमाडोै पुगेर औषधी गरेर आएँ । औषधी खाइराछु । के औषधी खानुहुन्छ भनेर सोधें ः प्रेसरको औषधी भनेर जवाफ दिनु भयो । म, भतिज मनवीर गिरी, लक्ष्मण गिरी र भाई जिर शाहीलाई कफी दिएर खाँदै थियौं । त्यसै विचमा भतिज बसन्त र हेमन्तलाई बोलाउनु भयो । चिया खाएर ससुरालाई घर पुर्याएर आउ भनेर बसन्तलाई भन्नुभयो ।
त्यसै विचमा भतिज मनवीर गिरीले भन्नु भयो आजभोली अनुहार उज्यालो छ मोटिएकी छौ भदै । क्या मोटाना हौ. । औषधी खानाले होला भन्नु भयो । हामी त्यहाँ बसेका सबैलाई सुनाउँदै भन्नु भयो ः बाबु के गन्र्या छोेरी सन्तोषी कल्कलाउादो उमेरमा हामीलाई छोडेर गई । विपनामा यी दुई छोरा, हजुरका दाजु र समाज छ । सपनामा छोरी झल्झmली आउँछ । एक मलाई द्घन्द्घकालमा गलत सिकायतका कारण म जस्ती सिधा लाटीलाई माओवादीले पिटे शरीर पेले । त्यो वेला देखि मलाई नशा र रागनको विराम छ । त्यसैमा छोरी मरी चिन्ता थपियो । तपाईंका दाजुलाई भैंसी, बाख्रा र गाउँको घर थाम्न ठीक्क छ । मलाई यताको घर र दुई छोरा हेर्न ठीक्क छ । हजुरका दुवै भतिजा वेरोजगार छन । अहिलेसम्म विवाह गर्दैनन् । हुन पनि बेरोजगार छोरालाई दवाव दिएर विवाह गर भनेर कसरी भन्नु । विवाह गरेर बुहारी ल्याया छोरीको जस्तै माया गरेर राख्ने थियाँ बाबु भन्नु भयो । वहाँका यी सपना, इच्छा, आकांक्षा, चासो र चिन्ता केवल भनाइमा सिमित भए पुरा भएनन । आफुसंगै सबै सपना लिएर जानु भयो ।
जे होस । हजुर एक संघर्षशील एक साहसिक महिला नेतृ हो । तपाई बाजुरा जिल्लाको नेतृ हो । जगन्नाथ गाउँपालिकाबाट निर्वाचित पहिलो उपाध्यक्ष हो । तपाईको मृदुभाषी स्वभाव सादाजीवनशैली मिलनसार लगनशील एक कर्मठ महीला हक हीतको पक्षमा लड्ने योद्धा हो । जन्म पछी मृत्यु मिनल पछी बिछोड, दिन पछि रात उकालीपछी ओराली। सुखपछि दुख आउने यो प्रकृतीको नियम हो । तपाईले गरेको योगदानलाई बाजुराको समाजले सधैं सम्झिरहने छ । तपाई सधैं अमर र समाजसेवाको हिसाबले जीवन्त रहनुहुँने छ । तपाईले पार्टी संगठन, र समाजमा गरेका कामले अमर रहनुहुने छ । ऐना गिरी नाम बाजुराले कहिल्यै पनि बिर्सिने छैन् । महिला अधिकारको क्षेत्रमा यो नाम सधैंभ अगाडि आउने छ ।
अल बिदा भावपूर्ण हार्दिक श्रद्धासुमन भाउजु ।

चर्चामा

सम्बन्धित समाचार