शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • २४ वर्षीया सीताले जन्माइन् एकै पटकमा चार सन्तान

२४ वर्षीया सीताले जन्माइन् एकै पटकमा चार सन्तान

  • बिहिबार, कार्तिक ११, २०७८
२४ वर्षीया सीताले जन्माइन् एकै पटकमा चार सन्तान

पाल्पाकी एक महिलाले एकैपटक चार छोरीलाई जन्म दिएकी छन्। पाल्पाको माथागढी गाउँपालिका-१ की २४ वर्षीया सीता सार्कीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा मंगलबार दिउँसो चार छोरी जन्माएकी हुन्।

विवाह भएको सात वर्षमा पहिलोपटक सीता गर्भवती हुँदा उनी र उनका श्रीमान सन्तोष सार्की धेरै खुसी थिए। पाल्पामा जुत्ता पसलमा कालिगढको काम गर्दै आएका सन्तोषले श्रीमती गर्भवती भएपछि तानसेनस्थित मिसन अस्पतालमा परीक्षणका लागि नियमित लगिरहन्थे।

पेटमा चार शिशु हुर्किइरहँदा पनि सीतालाई ६ महिनासम्म कुनै अप्ठ्यारो महशुस भएको थिएन। गर्भ ६ महिनाको पुग्दा पेट दुख्न थालेपछि उनीहरूले भिडिओ एक्सरे गराए। चिकित्सकले पेटमा तीन शिशु रहेको जानकारी दिएका थिए।

तानसेनमा एक महिनाको अन्तरमा दुईपटक र कात्तिक ६ गते भैरहवा मेडिकल कलेजमा पनि एकपटक भिडिओ एक्सरे गर्दा तीन बच्चा देखिए पनि मंगलबार शल्यक्रिया गरेपछि मात्रै चार बच्चा भएको थाहा भएको हो।

sanima box ad 2
गर्भवती भएको सात महिनामै चार शिशु जन्मिएकाले कम तौलका भएको भैरहवा मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए। सबै शिशुको तौल एक किलोभन्दा अलिकति मात्र बढी भएकाले सबैको आइसियूमा उपचार भइरहेको पनि उनले बताए।

अस्पतालका अनुसार शिशुहरूको तौल एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो एक सय ३० ग्राम र एक किलो एक सय १५ ग्राम छ।

साढे दुई किलोको शिशुलाई सामान्य मानिन्छ। यी चारै शिशु स्वस्थ रहे पनि तौल कम भएकाले एनआइसियुमा राखी उपचार गरिएको गुरुङले बताए।

‘शल्यक्रिया गर्ने डाक्टरका अनुसार सबै बच्चाहरू स्वस्थ त छन्। तर तौल कम भएकाले बाहिरी वातावरणमा घुलमिल हुँदा संक्रमण नहोस् भनेर एनआइसियुमा राखिएको हो,’ गुरुङले भने।

सन्तोषले श्रीमतीको अवस्था सामान्य रहे पनि छोरीहरूलाई एनआइसियुमा राखिएकाले भेट्न नपाएको बताए।

‘डाक्टरहरूले हेर्न गइरहने गर्दा पनि संक्रमण हुन सक्छ भन्नुभएको छ। मैले त एकपटक बाहिरैबाट भए पनि देखेको हो। श्रीमतीले हेर्न पनि पाएकी छैनन्,’ उनले भने।

पहिलोपटक श्रीमती गर्भवती बन्दा खुसी भए पनि कम तौलका चार छोरी जन्मिएपछि चिन्ता थपिएको उनले बताए।

‘विवाह गरेको सात वर्षपछि बल्ल सन्तान हुँदैछ भन्दा त धेरै खुसी थियौं। अब अहिले चार जना जन्मिएपछि के कसो हुने हो भन्ने डर लागिरहेको छ,’ सन्तोषले सेतोपाटीसँग भने।

सन्तोषका अनुसार अस्पतालले बच्चाहरूको तौल कम भएकाले उपचार जटिल बन्न सक्ने बताएको छ।

‘चार बच्चाको उपचारका लागि पैसा धेरै लाग्न सक्छ। पैसा जुटाउनुस् भन्नुभएको छ,’ उनले भने।

चर्चामा

सम्बन्धित समाचार