शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • निर्वाचन आयोगको निर्णयले प्रचण्ड–माधव समूह उत्साहित !

निर्वाचन आयोगको निर्णयले प्रचण्ड–माधव समूह उत्साहित !

माधव नेपाल भन्छन् : घुमिफिरी म आउने नै भएँ, केपीजीको चान्स छैन

  • सोमवार, माघ १२, २०७७
निर्वाचन आयोगको निर्णयले प्रचण्ड–माधव समूह उत्साहित !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुबै समूहको दाबीलाई अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णयसँगै प्रचण्ड–माधव समूह उत्साहित देखिएको छ ।

आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मान्छौं भनेको भन्दै आफूहरुले आधिकारिकता पाउने नेताहरुले बताए ।

प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आयोगले स्वीकार गरेको ४४१ सदस्यीय केन्द्रीय कमिटीको ७० प्रतिशत आफूहरुसँग रहेको बताए । सोमबार प्रदेश २ का नेता-कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै उनले निर्वाचन आयोगले आफूलाई अध्यक्ष नमाने पनि केही फरक नपर्ने बताए ।

आयोगले ४४१ सदस्यीय केन्द्रीय कमिटी र अनुशासनको कारबाही गर्ने पुरानो विधान लागू हुन्छ भनेको बताउँदै नेपालले भने, ‘दुई अध्यक्ष हुनेछ भनेर लेखेको हुनाले घुमिफिरी म आउने नै भएँ ।’ ओलीलाई बहुमत केन्द्रीय सदस्यले अध्यक्षबाट हटाइसकेको भन्दै उनले अघि भने, ‘केपी ओलीजी केही चान्स छैन तपाईंको । खुरुक्क बालुवाटार छाड्नुस्, आराम गरेर बस्नुस् ।’

माधव नेपालको भनाइ जस्ताको त्यस्तै

आयोगको पत्रमा के लेखेको छ भने २०७५ जेठ २३ को विवरण र विधानबाहेक अरु कुनै मानिने छैन । भनेपछि त्यो सडक छाप, धुलोछाप पार्टीको कुनै अर्थ छैन । क्लियर भएन ? उसले सिधै भन्छ, ४४१ केन्द्रीय सदस्य, ४५ जनाको स्थायी कमिटी । ४५ जनामध्ये २८ जना हामीसँग हुनुहुन्छ । केपीको सानो झुण्डसँग थोरै मान्छे छन् । ४४१ केन्द्रीय कमिटी मध्ये ४३४ जना हुनुहुन्छ । केहीको मृत्यु भयो, केही राजनीतिक तथा संवैधानिक नियुक्तिमा जानुभयो । उहाँहरु केन्द्रीय सदस्य हुनुहुन्न । चार जना अरु पार्टीबाट आएकाले (केन्द्रीय सदस्यको कुल संख्या) ४३४ भयो । उनीहरुमध्ये ३०० बढी हामीसँग छन्, ओलीसँग १०० सेरोफेरो छ । कहाँ ३००, कहाँ एक सय ! भनेपछि केपी ओलीसँग एक चौथाइ सेरोफेरोमा छ, हामीसँग ७० प्रतिशतभन्दा धेरै केन्द्रीय सदस्य छन् ।

निर्वाचन आयोगले पत्रमा लेखेको छ, ४४१ लाई आधार मान्छौं । त्यो ४५ लाई आधार मान्छौं । दुई अध्यक्षलाई मान्छौं पनि भनेको छ । (हाँस्दै) माधव नेपाललाई मान्दिनँ पनि भनेको छ । तर, केही भएको छैन । कमरेड प्रचण्डलाई मान्छु भनेपछि उहाँको आधिकारिता रह्यो । केपी ओलीलाई त हामीले हटाइसकेका छौं, केपी ओली समाप्त !केन्द्रीय कमिटीले अध्यक्ष पदबाट निकालिसकेपछि … (निर्वाचन आयोगले) अधिकार छ भनेर लेखेको छ । के लेखेको छ भने अनुशासनको कारबाही गर्ने त्यही पुरानो लागू हुनेछ ।

दुई अध्यक्ष हुनेछ भनेर लेखेको हुनाले घुमिफिरी म त आउने नै भएँ (हलमा हाँसो) । केपी ओलीजी केही चान्स छैन तपाईंको । अनेक सेटिङ मिलाउँछु, हाम्रो जित हुन्छ, सूर्य चिन्ह हाम्रै हुन्छ भन्नेको केही अर्थ छैन । खुरुक्क बालुवाटार छाड्नुस्, आराम गरेर बस्नुस् ।

चर्चामा

सम्बन्धित समाचार