बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ७
  • कैलालीका डिएसपी चौधरी ८ घण्टासम्म सम्पर्कविहीन भएपछि …

कैलालीका डिएसपी चौधरी ८ घण्टासम्म सम्पर्कविहीन भएपछि …

  • बुधबार, मंसिर १०, २०७७
कैलालीका डिएसपी चौधरी ८ घण्टासम्म सम्पर्कविहीन भएपछि …

अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत २ जना प्रहरीको विभत्स हत्या भएको घटनाको डेढ महिना नबित्दै गएराती कैलाली प्रहरीमा अर्को तनाब सिर्जना भयो।

ईलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरी राती एकाएक सम्पर्क विहीन भएपछि कैलाली प्रहरीमा हलचल मच्चियो भने प्रहरी अधिकृतहरु तनाबमा परे।

९ बजे सम्म सम्पर्कमै रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) चौधरी सम्पर्क विहीन भएपछि राती नै उनको खोजीका लागि ठुलो संख्यामा प्रहरी परिचालन भयो।

कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा चौधरीको खोजीका लागि राती नै टोली खटाईयो भने प्रदेश प्रहरी कार्यालयबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरिएको प्रहरी स्रोतले बतायो।

तर प्रहरी नायव उपरीक्षक चौधरी आज बिहान कैलालीकै बुढीतोलामा सकुसल फेला परेका छन्।

‘राती सम्पर्क विहीन भएपछि उहाँको बारेमा हामीले चासो राखेर खोजी थालेका हौँ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले दिनेश खबरसँग भने, ‘अहिले उहाँ सम्पर्कमा आइसक्नुभएको छ। दुर्गम क्षेत्रमा सूचना संकलनका लागि गएको भन्नुभएको छ। हामी थप अनुसन्धान गरिरहेका छौँ ।’

प्रहरी वरिष्ठ उपरीक्षक सिहका अनुसार चौधरीले सूचना संकलन गर्न गएको भनेपनि उनीसँग अन्य प्रहरी अधिकृत भने गएका थिएनन्।

स्रोतका अनुसार उनी बुढीतोलामा रहेको एक होटलमा भेटिएका हुन। चौधरीलाई अहिले जिल्ला ल्याउने काम भइरहेको छ।

सम्पर्क विहीन भएको विषयमा प्रहरी नायव उपरीक्षक चौधरीसँग बुझ्न सम्पर्क गर्न खोज्दा उनको फोन बन्द थियो।

गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको विभत्स हत्या गरिएको थियो।

सो हत्या घटना सेलाउन नपाउँदै ईलाका प्रहरी कार्यालयकै इन्चार्ज सम्पर्क विहिन भएपछि गएराती सुदूरपश्चिम प्रहरी वृत्तमा तनाब सिर्जना भएको थियो।

चौधरीको खोजीका लागि खटिएका एक अधिकृतले दिनेश खबरसँग भने, ‘२ प्रहरीको हत्या घटना सेलाउन नपाउँदै डिएसपी साप सम्र्पक विहीन भएपछि हाम्रो मनमा चिसो पसिकेको थियो। तर उहाँ सकुसल भेटिनुभयो । अहिले तनाब मुक्त भएका छौँ।’

चर्चामा

सम्बन्धित समाचार