बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • जोखिम घरमा बस्दै प्रहरी

जोखिम घरमा बस्दै प्रहरी

  • मङ्लबार, मंसिर ९, २०७७
जोखिम घरमा बस्दै प्रहरी

बझाङ– घरका भित्ताहरु यत्रतत्र चर्किएका छन । धेरै ठाउँमा गाह्रो उप्किएको छ । चर्किएर असन्तुलित भएका पर्खालहरु हेर्दाहेर्दै भत्किन्छन की झै लाग्छ । जिर्ण झ्यालहरु खोल्न मिल्दैनन । यही घरमा ज्यान हत्केलामा राखेर ११ जना प्रहरी बसिरहेका छन ।
यो दृष्य बझाङको देवल विमान स्थलको सुरक्षाको लागि खटिएका प्रहरी बस्ने घरको हो । जस्तापाता ठोकेर काम चलाइएको भए पनि ठाउँठाउँमा ठुलठुला प्वाल देखिन्छन । झ्याल राम्रो सँग बन्द नहुने भएका कारण जाडो बढे सँग प्रहरीलाई रात कटाउन पनि गाह्रो हुदै गएको छ ।
‘गर्मी हँुदा सर्पको डरले निन्द्रा लाग्दैन थियो । जाडो बढेपछी चिसोले सताउन थालेको छ’ प्रहरी हवल्दार कम्मान कार्कीले भने ‘यो बर्खामा मात्रै ६ वटा ठुला ठुला सर्प कोठा भित्र मार्र्यौ । धन्न कसैलाई टोक्न पाएन’ झ्यालहरु जमिनको नजिक भएको र झ्यालको ठाउँठाउँमा प्वालहरु भएको कारण सर्प सजिलै भित्र पस्ने गरेको उनले बताए । उनले सबै झ्यालमा जस्तापाता ठोकिएको हुनाले कोठा भित्र दिउँसै पनि अँध्यारो हुने र विद्युत अवरुद्ध भएको बेला भित्र पस्न पनि डर लाग्ने गरेको बताए ।
यहाँ बस्ने प्रहरीहरुलाई गर्मीयाममा सर्प डर र हिउँदमा जाडोको समस्या त छदैछ । सबै भन्दा ठुलो जोखिम भुकम्पको रहेको छ । सबै तिरका भित्ताहरु चर्किएकोले सानो भुकम्प जाँदा पनि घरै भत्किने हो की भन्ने डर लाग्ने गरेको यहाँ बस्ने प्रहरीहरुको भनाई छ । ‘यस्तो धरापमा बस्दा डर त लागि हाल्छ’ देवल विमानस्थल सुरक्षागार्डका इन्चार्ज सई सुन्दरसिंह धामीले भने ‘अरु विकल्प नभएकाले यसैलाई टालटुल पारेर बसेका छौं । विमान स्थलको सुरक्षा त गर्नै पर्यो’ उनले विमानस्थल सुरक्षाका लागि खटिएका प्रहरीको लागि खानेपानीको पनि समस्या रहेको बताए ।
बझाङ विमानस्थलमा रहेको यो धराप घर प्रहरीको आफ्नै भवन भने होइन । २०५८ सालमा तत्कालिन माओवादी विद्रोहीले विमानस्थलको टावर रहेको घरमा विष्फोट गराउदा छेउमै रहेको रहेको विमान स्थल सुरक्षा गार्डको भवनमा पनि क्षती पुगेको थियो । २०५९ सालमा माओवादीले अर्काे शक्तीशाली विष्फोट गराए पछि टावर सहित प्रहरी बस्ने भवन पनि पुर्णरुपमा ध्वस्त भएको थियो । विष्फोटको धक्काले टावर नजिक रहेका कर्मचारी आवास गृहको एउटा भवनको झ्याल ढोका भत्किनुका साथै छाना खसेको थियो भने अर्काे भवनका झ्यालका शिशाहरु फुट्नुका साथै धेरै ठाउँमा भित्ताहरु चर्किएका थिए ।
त्यस यता विमानस्थलको सुरक्षाको लागि प्रहरीहरु सदरमुकाम चैनपुरबाट जाने र साँझ सदरमुकाम फर्किने गरेका थिए । २०६३ सालमा शान्ती प्रकिृया सुरु भए पछि विमानस्थलका कर्मचारीहरु बस्ने निवासको भित्ता चर्किएको तर नभत्किएको भवन टालटुल गर्दै प्रहरीहरु बसिरहेका छन । लामो समय देखी जोखिम युक्त भवनमा प्रहरीहरु बस्दै आएको भए पनि विमानस्थल सुरक्षा गार्डको भवन प्रहरीले नभई नागरिक उड्डयन प्राधिकरणले बनाउने भएकोले आफुहरुले केही गर्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपक खड्काले बताए । उनले भने ‘प्रहरीलाई जोखिम छ । भवन छिटो बनाई दिनु पर्याे भनेर हामीले प्राधिकरणलाई अनुरोध गरेका छौ । त्यो बाहेक हामीले केही गर्न सक्ने अवस्था छैन’
बझाङ विमानस्थलका इन्चार्ज समेत रहेका नागरिक उड्डन प्राधिकरणका उपप्रवन्धक मोहन गिरीले विस्फोटबाट क्षती भएका विमानस्थल सुरक्षागार्ड भवन, कर्मचारी आवासगृह, शौचालय लगायतका संरचनाहरु सँगै बनाउनु पर्ने र संरचनाहरु छिटो निर्माण गर्नका लागि पहल भैरहेको बताए । विमानस्थलमा संरचना निर्माणको काम गर्ने प्राधिकरण अन्र्तगतको विमान स्थल सुधार आयोजनाका इन्जिनियरहरुले यहाँको स्थलगत अवलोकन समेत गरिसकेको बताउदै उनले भने ‘विमानस्थल नियमित संचालन नभएका कारण आयोजनाले संरचना निर्माणमा चासो नदिएको हो । अब हवाई सेवा पनि नियमित भएको छ । छिट्टै यसको काम सुरु हुन्छ होला’ यद्यपी उनले संरचना निर्माणबारे कहिले सम्म काम सुरु हुन्छ भन्ने अहिले सम्म यकिन नभएको बताए ।

चर्चामा

सम्बन्धित समाचार