शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा झण्डै ७ महिनादेखि बन्द पर्यटकीय स्थल सञ्चालनमा आएपछि चहलपहल

सुदूरपश्चिममा झण्डै ७ महिनादेखि बन्द पर्यटकीय स्थल सञ्चालनमा आएपछि चहलपहल

  • बिहिबार, कार्तिक २०, २०७७
सुदूरपश्चिममा झण्डै ७ महिनादेखि बन्द पर्यटकीय स्थल सञ्चालनमा आएपछि चहलपहल

धनगढी : सुदूरपश्चिममा झण्डै ७ महिनादेखि बन्द रहेका पर्यटकिय स्थल सञ्चालनमा आएसँगै चहलपहल पनि बढ्न थालेको छ ।

कोरोना जोखिम नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको लकडाउन र निषेधाज्ञापछि बन्द रहेका पर्यटकिय क्षेत्र औपचारिक रुपमा खुला नभएपनि आन्तरिक रुपमा चहलपहल बढ्न थालेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न सफल शुँक्लाफाटा राष्ट्रिय निकुञ्जमा समेत पर्यटकको चहलपहल सुरु भएको छ भने आन्तरिक व्यवस्थापनको काम थालिएको शुँक्लाफाटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले बताए ।

‘पर्यटन मार्ग खोल्ने, घाँसे मैदान सफा गर्ने लगायतका अन्य काम भईरहेको छ,’ उनले भने, ‘झण्डै ७ महिनादेखि बन्द रहेको निकुञ्ज क्षेत्रको सरसफाई गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पर्यटक घुमाउने योजना बनाएका छौँ ।’

सुदूरपश्चिमकै प्रमुख धार्मिक एवंम् पर्यटकीय क्षेत्र कैलालीको गोदावरीमा क्षेत्रमा समेत आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । चैतदेखि ठप्प रहेको गोदावरी धाम क्षेत्रमा धार्मिक कार्यहरु संञ्चालन नभएपनि पर्यटकका लागि भने खुला गरिएको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताए ।

‘सुदूरपश्चिमकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको रुपमा चिनिएको गोदावरी धामको विकासको जिम्मा सरकारले लिनु पर्छ,’उनले भने, ‘कोरोना प्रभावकै कारण विभिन्न संरचना विस्तार गर्ने योजना पछाडी धकेलिएको छ ।’

अन्तरिक पर्यटनको मन जित्न सफल कैलालीकै घोडाघोडी तालमा समेत चहलपहल बढेको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने घोडाघोडी तालमा कोरोना प्रभावकै बिच पनि विभिन्न स्थानबाट पर्यटक घुम्न पुग्ने गरेका छन् ।

घोडाघोडीको समग्र विकासका लागि कोरोना भईरसको प्रभावले धेरै असर नगरेको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले बताए । ‘विगतको जस्तै पर्यटक तान्नका लागि भने समय लाग्ने देखिएको छ,’ उनले भने, ‘अहिले पनि कोरोना प्रभावकैबीच यातायात साधन सञ्चालनमा आएपछि आन्तरिक पर्यटक आउने क्रम बढेको छ ।’

यी बाहेक सुदूरपश्चिमका अन्य पर्यटकीय स्थलमा समेत आन्तरिक र बाह्य पर्यटक घुम्नका लागि पुग्न थालेका छन् । चहलपहल बढेपछि धरासायी बनेको पर्यटकीय क्षेत्रमा आर्थिक गतिविधि समेत बढ्ने विश्वास गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार