शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • अब चौरपाटी ब्राण्ड कोदो !

अब चौरपाटी ब्राण्ड कोदो !

  • शनिबार, कार्तिक १५, २०७७
अब चौरपाटी ब्राण्ड कोदो !

हाम्री आमा साह्रै नै बाठी छन्, चामलसंग पिठो पो साटीछिन् ‘।’ कुनै बेलाको यो चर्चित गीतले भनेझैं अछामको चौरपाटी गाउँपालिकाले कोदोसंग चामल साट्ने कार्यक्रम ल्याएको छ । गीतको आशय झैं चामल दिएर कस्ले कोदो लेला भन्ने लाग्न सक्छ, तर यो कारोबार चल्छ भन्ने विश्वास यो स्थानीय सरकारलाई छ ।

आगामी १ मंसिरदेखि १५ गतेसम्म चौरपाटीका किसानले मजाले फलेर (केलाएर) ल्याएको कोदो बराबर चामल लिएर जान सक्ने छन् । यो कार्यक्रमको नामै छ– ‘फलेको कोदो, कुटेको धान ।’

गाउँपालिका उपाध्यक्ष माया कुँवरका अनुसार, टाढाका किसानहरुले वडा कार्यलयमै कोदो ल्याएर चामल लैजान सक्ने व्यवस्था हुनेछ ।

हालको बजार भाउअनुसार किसानको कोदो बराबर चामल दिँदा पालिकालाई प्रतिकिलो ३४ रुपैयाँ घाटा हुन्छ । र पनि, चौरपाटीमा फल्ने गुणस्तरीय कोदो प्रवर्द्धन गर्न यो कार्यक्रम ल्याइएको उपाध्यक्ष कुवँर बताउँछिन् ।

‘५० किलो कोदोलाई ७०० पर्छ भने त्यही परिमाणको चामललाई २५ सय,’ उनी भन्छिन्, ‘रपनि, किसानलाई उचित भाउ र कोदो पारखीहरुलाई चौरपाटीको उत्पादन दिन यो कार्यक्रम ल्याएका हौं ।’

पहाडी भूगोल चौरपाटी क्षेत्रमा धान खेती कम छ । यसक्षेत्रका सर्वसाधरणले किन्ने महँगो वस्तुमध्ये पर्छ चामल । वडा नम्बर ४ का अध्यक्ष हर्कबहादुर लोहारको ठिकै खालको ५० किलो चामल किन्न २५ सय रुपैयाँ भन्दा बढी खचिर्नु पर्छ ।

यो क्षेत्रमा कोदो भने अचम्मै सप्रिन्छ । तर पसिना बगाएको कोदोले मूल्य नपाउँदा किसान हैरान छन् । ‘कोदो बिक्री नै हुन्न, कतै बिक्री भयो भने पनि त्यसको भाउ प्रतिकिलो १५–१६ रुपैयाँ मात्र हुन्छ,’ वडा अध्यक्ष लोहार भन्छन् ।

चामलसँग साटिने कोदो लैजान व्यापारी र सहकारी संस्थाहरु चयन भइसकेको उपाध्यक्ष कुँवरले बताइन् । ‘चौरपाटी ब्राण्ड कोदो भनेर पाँच किलो र २५ किलोको प्याकेट बनाएका छौं’, उनी भन्छिन्, ‘अब बजारमा यसरी ब्राण्डिङ हुन्छ हाम्रो कोदो ।’

असार–साउनमा कोदो रोप्दै किसानलाई यो कार्यक्रमबारे जानकारी गराइएकाले यसपटक उत्पादन पनि बढ्ने गाउँपालिकाको विश्वास छ । यसै आर्थिक वर्षदेखि भटमासको पनि यसरी नै ब्राण्डिङ गर्ने गाउँपालिकाले योजना छ ।

चर्चामा

सम्बन्धित समाचार