बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • पत्रकार महासंघको मिसन टोलीले मुख्यमन्त्री लगायतसँग छलफल गर्दै

पत्रकार महासंघको मिसन टोलीले मुख्यमन्त्री लगायतसँग छलफल गर्दै

  • सोमवार, अशोज ५, २०७७
पत्रकार महासंघको मिसन टोलीले मुख्यमन्त्री लगायतसँग छलफल गर्दै

दिनेश सञ्चार गृह र पत्रकारमाथि भएका आक्रमणबारे अध्ययन गर्न धनगढी पुगेको नेपाल पत्रकार महासंघको टोलीले आज पनि सरोकारवाला निकायसँग छलफल गर्ने भएको छ।

आईतबारदेखि नै घटना सम्बन्धी अध्ययन थालेको महासंघको टोलीले आज स्थानीय प्रशासन, प्रहरी, मुख्यमन्त्री लगायतसँग छलफल गर्ने जनाएको छ।

टोलीमै रहेका पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्टले कैलालीमा रहेका नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय पदाधिकारी एवंम् सदस्य, केन्द्रीय सदस्यसँग पनि छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिए।

विष्टका अनुसार पत्रकारसँगको छलफलपछि गत शुक्रबार मृत अवस्थामा फेला परेकी पत्रकार निर्मला पहराईका परिवारजनसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानून मन्त्रीसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको केन्द्रीय सदस्य विष्टले बताए।

महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोली आईतबार धनगढी पुगेको थियो। हिजोदेखि नै दिनेश सञ्चार गृहसँगै कैलालीमा पत्रकारमाथि भएका आक्रमणका घटनाका विषय अध्ययन थालेको थियो।

हिजो पत्रकार महासंघ कैलाली शाखामा पत्रकारहरुसँग छलफल गरेको टोलीले टोलीले दिनेश सञ्चार गृह, मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत्यु भएका रोशन विकका परिवारसँग पनि भेटघाट र छलफल गरेको थियो।

मिसन टोलीमा महासचिव विष्टसहित सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य मिन बम र उत्तर विष्ट, प्रदेश अध्यक्ष अर्जुन शाह, कैलाली अध्यक्ष जगत साउँद लगायत सहभागी छन्।

गत भदौँ २६ गते दिनेश सञ्चार गृहमा प्रवेश गरेको एक समूहले सहसम्पादक जनक विष्टमाथि कुटपिट गरेको थियो भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिहमाथि दुव्र्यवहार गरेको थियो।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीका आधारमा हिरासतमा धनगढीका १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचारको विषयलाई लिएर उनीहरुले सञ्चार गृहमै आक्रमण गरेका थिए।

सञ्चार गृहमाथि आक्रमण गर्दै पत्रकारलाई कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ कैलाली शाखाको अगुवाईमा आन्दोलन जारी छ। प्रहरीले आक्रमण र कुटपिटमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। अन्यको खोजी भईरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार