शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका चार नगरपालिकामा शहरी सडक निर्माण गरिँदै

सुदूरपश्चिमका चार नगरपालिकामा शहरी सडक निर्माण गरिँदै

  • मङ्लबार, भदौ २३, २०७७
सुदूरपश्चिमका चार नगरपालिकामा शहरी सडक निर्माण गरिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका चार नगरपालिकामा पौने ३ अर्ब रुपैयाँ लगानीमा साढे ४५ किलोमिटर शहरी सडक निर्माण गरिने भएको छ । एशियाली विकास बैंक (एडीबी)को ऋण लगानीमा नेपाल सरकारले कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका साथै कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिकाभित्र २ वर्षभित्र उक्त सडक निर्माण गर्न लागेको हो ।

क्षेत्रीय शहरी विकास आयोजना नामबाट चारओटै स्थानीय तहमा छुट्टाछुट्टै निर्माण कम्पनीसँग सम्झौता गरेर निर्माण प्रक्रिया अघि बढाइएको आयोजनाका उप–व्यवस्थापक श्यामकुमार बुढाथोकीले जानकारी दिए ।

आयोजना अन्तर्गत धनगढी उप–महानगरपालिकाभित्रका सातओटा सडक (साढे १० किलोमिटर लम्बाइ) निर्माणका लागि कालिका कन्ष्ट्रक्शनले करीब ७७ करोड रुपैयाँमा ठेक्का पाएको छ । यसअन्तर्गत उपमहानगरपालिकामा शहीदगेट–क्याम्पस सडक, मुख्यबजारको ट्राफिक चोकदेखि कैलाली नालासम्मको सडक, मालपोत सडक, हसनपुर सडक, हुलाकी क्याम्पसगेट सडक र गुल्म–चर्च सडक निर्माण गरिनेछ । सडकको बीचमा ‘स्ट्रिट लाइट’, दुवैतिर नाली, साइकल लेन र फुटपाथ बन्नेछन् ।

यसैगरी गोदावरी नगरपालिकाभित्र साढे १७ किलोमिटर शहरी सडक र साढे १० किलोमिटर नाली निर्माणका लागि साढे ५४ करोड रुपैयाँमा कालिका कन्ष्ट्रक्शनले नै ठेक्का पाएको छ ।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाभित्र साढे १४ किलोमिटर सडक, दुवैतिर नाली र फुटपाथ निर्माणका लागि जेडआईईसी÷लामा जेभीले करीब १ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको छ, जसअन्तर्गत मुख्य सडक र पाँचओटा गल्लीका सबै सडकमा नाली निर्माणसहित कालोपत्र गरिने आयोजनाले बताएको छ ।

यस्तै कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाभित्र करीब ५ किलोमिटर सडक, ८ किलोमिटर नाली र फुटपाथ निर्माणका लागि रमण÷केएस जेभीसँग २८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ ।

डेढ महीनाअघि गरिएको सम्झौता अनुरूप धेरै स्थानको सडक सर्भेको काम सम्पन्न भइसकेको आयोजना कार्यालय धनगढीले बताएको छ । चारओटै नगरपालिकाभित्र सुविधासम्पन्न सडक, फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माण लगायत काम हुनेछन् ।

चर्चामा

सम्बन्धित समाचार