शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • लकडाउन खुलेयता १४ जना कोरोना संक्रमितको मृत्यु

लकडाउन खुलेयता १४ जना कोरोना संक्रमितको मृत्यु

  • शुक्रबार, साउन १६, २०७७
लकडाउन खुलेयता १४ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको मृत्यु बढ्दो क्रममा छ। बिहीबार रातीदेखि शुक्रबार दिउसोसम्म मात्र ४ जना संक्रमितको मृत्यु भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउसो सवा ४ बजे सार्वजनिक गरेको तथ्यांकमा नेपालमा कोरोना संक्रमिण भएका ५२ जनाको मृत्यु भएको थियो। तर, त्यसयताको झण्डै २४ घण्टाको अवधिमा थप ४ जना संक्रमितको मृत्यु भइसकेको छ।

शुक्रबार दिउसो २ बजेसम्मको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमण भएका ५६ जनाको मृत्यु भएको छ। लकडाउन खुलेयताका ९ दिनको अवधिमा मात्र नेपालमा १४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।  सरकारले साउन ७ गतेदेखि लकडाउन अन्त्य गरेको हो। लकडाउन अन्त्य भएको दिनसम्म नेपालमा ४२ जना संक्रमितको मृत्यु भएको थियो। साउन ७ गते त्रिवि शिक्षण अस्पतालमा एक चिनियाँ नागरिकको र साउन ६ गते धरानमा उपचाररत जनकपुरका एक जना संक्रमितको मृत्यु भएको थियो।

उनीहरुको मृत्युसहित साउन ७ गतेसम्म नेपालमा कोरोना संक्रमण देखिएका ४२ जनाको मृत्यु भएको थियो। लकडाउन खुलेको भोलीपल्ट साउन ८ गते वीरगञ्जमा मृत्यु भएका एक ७० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।  त्यस्तै साउन ९ गते वीरगञ्जमा थप २ जनाको मृत्यु भएको थियो।

वीरगञ्ज-११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिला र परवानीपुर-८ बाराकी १७ वर्षीया किशोरीको मृत्यु भएको थियो। यी २ जनासहित नेपालमा मृत्यु हुनेको संख्या ९ गतेसम्म ४५ पुगेको थियो।

साउन ११ गते वीरगञ्जमै थप एक संक्रमितको मृत्यु भएको थियो। गण्डक अस्थायी कोभिड-१९ अस्पतालमा उपचारत भारत विहारका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४६ पुगेको हो। साउन १२ गते धनुषाका ३८ वर्षीय एक युवकको मृत्यु भएको थियो। शहीदनगर–८ डुमरिया बस्ने ती युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए। उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा सिरहामा मृत्यु भएको हो।

बझाङका ६५ वर्षीय पुरुषको साउन १३ गते पोजिटिभ रिपोर्ट आएको थियो। उनको साउन ९ गते नै मृत्यु थियो। तर रिपोर्ट भने १३ गते मात्र आएको हो। सोही दिन मन्त्रालयले बाराका ६० वर्षीय पुरुषको मृत्यु भएको र नेपालमा मृतकको संख्या ४९ पुगेको जानकारी दिएको थियो।

साउन १४ गते वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो। वीरगञ्ज रोधमाई वडा नं ७ का ६८ वर्षीय पुरुषको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यस्तै नेशनल मेडिकल कलेजमा उपचाररत वीरगञ्जका ७० वर्षीय कोरोना संक्रमित पुरुषको आइसियुमा उपचारका क्रममा मृत्यु भएको हो।  सोही दिन मोरङका ४५ वर्षीय पुरुषको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु थियो। उनको मृत्युसँगै नेपालमा १४ गतेसम्म मृतकको संख्या ५२ पुगेको थियो।

साउन १५ गते दिउसो ४ बजेसम्म स्वास्थ्य मन्त्रालयको कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ गतेसम्मको तथ्यांक प्रस्तुत गरेका थिए। तर पछिल्लो ४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५६ पुगेको हो।

चर्चामा

सम्बन्धित समाचार