शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कञ्‍चनपुरमा ३ सयभन्दा बढी घर डुबानमा, ६० घर विस्थापित

कञ्‍चनपुरमा ३ सयभन्दा बढी घर डुबानमा, ६० घर विस्थापित

  • बिहिबार, असार २५, २०७७
कञ्‍चनपुरमा ३ सयभन्दा बढी घर डुबानमा, ६० घर विस्थापित

कञ्‍चनपुर — दुई दिनयताको वर्षाले जिल्लाका विभिन्न ठाउँ जलमग्न भई डुबानमा परेका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजारसँगै आसपासका क्षेत्रमा डुबानको समस्या देखिएको हो । भीमदत्त नगरपालिका–१८ को सालघारी र बागबाणी क्षेत्रमा मात्रै तीन सयभन्दा बढी घरटहरा डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सबै घरभित्र पानी भरिएको छ । डुबानका कारण ६० परिवार विस्थापित भएको डीएसपी अमरबहादुर थापाले बताए । ‘सालघारी क्षेत्रका अधिकांश घर डुबानमा छन्,’ भीमदत्त नगरपालिका–१८ का अध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘विस्थापित परिवारमध्ये केहीलाई भगतपुरको योगशाला भवनमा सार्‍यौं, केहीलाई आफन्तकहाँ पठायौं ।’ सालघारी क्षेत्रमा सुकुम्बासी र मुक्त कमैयाहरूको बसोबास छ ।

महेन्द्रनगर बजार क्षेत्र पनि जलमग्न बनेको छ । खोलानाला मिचेर घर निर्माण भएपछि निकास बन्द भएका कारण सामान्य वर्षामा समेत बजार क्षेत्र डुबानमा पर्ने गरेको थियो । भुजेलाघाट र झोलुंगे पुल नजिकैका घर पनि डुबानमा परेका छन् । महाकाली नगरपालिकाको चाँदनी क्षेत्रमा पनि एक सय घर डुबानमा परेका छन् । पानी केही घटेकाले विस्थापित परिवार घर फर्किन थालेको सशस्त्र प्रहरीको दोधारास्थित बीओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रामसिंह भण्डारीले बताए । उनका अनुसार बेदकोट नगरपालिका–१० को दैजीमा पनि हुलाकी सडक किनारमा पानी निकास नहुँदा आधा दर्जन घर डुबानमा परेका छन् । सडक निर्माणका क्रममा पानीको निकास नहुँदा घरसँगै खेतसमेत डुबानमा परेको स्थानीय जोगराज रानाले बताए । कान्तीपुर दैनिकबाट

चर्चामा

सम्बन्धित समाचार