
काठमाडौँ–नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिहरूको भविष्य लामो नभएको टिप्पणी गरेका छन् । नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित यस्तो टिप्पणी गरेका हुन् ।
महासचिव पोखरेलले वर्तमान समयमा उदाएका नयाँ शक्तिहरू अवसरवाद र अराजकताको जगमा खडा भएको आरोप लगाए । नयाँ शक्तिहरूको पतन निश्चित भए पनि उनीहरूको असफलतापछि जनमत स्वतः पुरानै दलहरूतिर फर्किन्छ भन्नेमा विश्वस्त हुन नसकिने पोखरेलको तर्क छ ।
उनले नयाँ शक्तिको असफलतापछिको रिक्ततामा जनतालाई पुनः मूलधारका राजनीतिक दलहरूमा आकर्षित गर्नु नै अहिलेको मुख्य चुनौती रहेको बताए । पार्टीको आन्तरिक अवस्थाप्रति समीक्षा गर्दै महासचिव पोखरेलले युवा पुस्ताको आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गरे ।
महासचिव पोखरेलले भने- ‘आज बालेन्द्र सरकार पपुलिजम, एनार्किजम र अपर्चुनिजमको जगमा जसरी खडा भएको छ, यो लामो समयसम्म चुनौती रहन्छ भन्ने म ठान्दिनँ । किनभने कुनै पनि शक्ति जति छिटो उदय हुन्छ, त्यसको पतन पनि त्यति नै छिटो हुने सम्भावना रहन्छ । यो विज्ञानको कुरा हो । उनीहरू जसरी नाटकीय रूपमा नेपालको राजनीतिमा स्थापित भएका छन्, उनीहरूको पतन पनि त्यसैगरी हुन्छ । यसमा ढुक्क हुँदा हुन्छ ।’
उनले थप भने, ‘तर सवाल के हो त भन्दा, उनीहरूको पतनपछिको भविष्य के हुने ? त्यो भविष्य हामीले चाहेजस्तो हुन्छ कि हुँदैन, बनाउन सक्छौँ कि सक्दैनौँ । यो नै मुख्य प्रश्न हो भन्ने मलाई लाग्छ । त्यस अर्थमा म भन्दै आएको छु कि एउटा पपुलिजमको असफलतामा वा अहिलेको रास्वपा सरकारको असफलतामा जनमत स्वतः फेरि हामीतिर फर्कन्छ भन्ने कुरामा ढुक्क भएर बस्ने हो भने त्यो नफर्कन पनि सक्छ । त्यस अर्थमा हामीले आजको युवा पुस्तातर्फ विशेष ध्यान दिनुपर्छ । हामी हाम्रा हरेक कार्यक्रमहरूमा अनुहार हेर्दा पाका अनुहार नै बढी देख्छौँ ।’
पोखरेलले पपुलिजमको असफलतापछि सिर्जना हुने राजनीतिक भविष्यलाई सही दिशा दिन राजनीतिक दलहरूले समयमै सोच्नुपर्नेमा जोड दिए ।


