
बाजुरा–बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–९ सेलागाडमा बाढीपहिरोका कारण १६ घरपरिवारमा क्षति पुगेको छ । बिहीवार रातिदेखिको अबिरल वर्षाका कारण माथिबाट बाढी पहिरो आउँदा सेलागाडका १६ वटा घरपरिवार प्रभावित भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेश बहादुर शाहीका अनुसार शुक्रबार बिहान साढे ४ बजेको समयमा माथिबाट पहिरो आएर १६ वटा घरभित्र पानी पसेको जानकारी दिएका छन् । त्यस लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहरा र सशस्त्र प्रहरी बल गुल्मबाट प्रहरी निरीक्षक सहितको टोली खटिएर प्रभावित भएका घरपरिवार, अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामग्रीहरु सुरक्षित स्थानमा सारिएको सूचना अधिकारी शाहीले बताए ।
यस्तै उनले बाढी र पहिरोका कारण प्रभावित भएका मध्ये ३ वटा उच्च जोखिममा छन् भने अन्य १३ वटा घरधुरी जोखिममा रहेको बताए । अविरल वर्षासँगै घरमाथिबाट एक्कासी बाढी पहिरो आएपछि बडीमालिका –९ बस्ने प्रेम थापाकी ३० वर्षकी श्रीमती बेहोस भएकोमा सुरक्षाकर्मीहरुको टोलीले नै उद्धार गरेर उपचारका लागि जिल्ला अस्पतालमा ल्याएको थियो । प्रहरीकाअनुसार घटनामा कुनै मानविय र चौपायामा भने कुनै क्षति भएको छैन् । त्यस्तै उक्त बाढी पहिरोका कारण सेलागाडमा ठुलो खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ भने बडीमालिका–८ राप्कास्थित टोट्के सिंचाई नहरको २३० मिटर प्लाष्टिक पाईप र २५ मीटर पक्की नहर समेत बगाएर क्षती गरेको छ ।
साँफे–मार्तडी ठाउँ ठाउँमा अवरुद्ध
जिल्लाको मुख्य सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड बाढी पहिरोका कारण विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीवार रातिको अविरल बर्षाका कारण मार्तडीस्थित जिल्ला कारागारदेखि जडाङ्गासम्म विभिन्न ठाउँमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार अवरुद्ध सडकखण्ड खुलाउनका लागि अहिले सडक डिभिजन कार्यालय साँफेबगरको डोजर प्रयोग गरेर मर्मत कार्य भइरहेको जनाएको छ । सडक अवरुद्ध हुँदा रातिदेखि गन्तव्यतर्फ जाने सवारी साधनहरु बिच बाटाेमै राेकिएका छन् ।


