शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोडबढी अवैध सम्पत्ति आर्जनको अभियोग

पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोडबढी अवैध सम्पत्ति आर्जनको अभियोग

  • सोमवार, जेष्ठ २०, २०८२
पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोडबढी अवैध सम्पत्ति आर्जनको अभियोग

काठमाडौं– सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेकपा एस संसदीय दलका नेतासमेत रहेका सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ बराबरको अवैध सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार २०७४ माघ ७ देखि २०७९ फागुन १० सम्म सोडारीको तलबभत्ता, पत्नीको बचत, छोराको पारिश्रमिकलगायत ८५ लाख ५१ हजार ३३४ रूपैयाँ वैधानिक आय देखिएको साथै यस अवधिमा जग्गा खरिद, घर निर्माणलगायतमा १ करोड ९३ लाख ८९ हजार ६३७ रूपैयाँ खर्च देखिएको छ ।

आम्दानी र खर्चको तुलना गर्दा सोडारीले १ करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ गैरकानूनीरूपमा आर्जन गरेको देखिएकाले सोबराबरको बिगो मागदाबी गरिएको छ ।

उनले आयोगसमक्ष पेस गरेको सम्पत्ति विवरणमा समेत वास्तविक सम्पत्तिको लुकाएको पुष्टि भएकाले लुकाई छिपाई राखिएको सम्पत्ति जफतको दाबी गरिएको छ । अख्तियारका अनुसार निजले सामाजिक विकास मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री र प्रदेश सांसद हुँदा पदिय मर्यादाविपरीत कार्य गरेकाले थप सजायको माग गरिएको छ ।

गैरकानूनीरूपमा कमाएको सम्पत्तिबाट श्रीमती गीता सोडारी तथा छोरा बबि सोडारीको नाममा जग्गा खरिद, घर निर्माण र बैङ्क मौज्दात देखिएकाले उक्त सम्पत्ति जफतका लागि दुईजनालाई प्रतिवादी बनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार