आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • बझाङ उपनिर्वाचनमा जुटे दलहरू, एमालेबाट भण्डारी उम्मेदवार

बझाङ उपनिर्वाचनमा जुटे दलहरू, एमालेबाट भण्डारी उम्मेदवार

  • मङ्लबार, चैत्र १३, २०८०
बझाङ उपनिर्वाचनमा जुटे दलहरू, एमालेबाट भण्डारी उम्मेदवार

धनगढी– बझाङमा आगामी वैशाखमा हुने उपनिर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले तयारी थालेका छन्।

दलका लागि जनमत परीक्षण गर्ने अवसरसमेत भएकाले उपनिर्वाचनलाई मुख्य गरी कांग्रेस र एमाले पार्टीले प्रतिष्ठाको विषय बनाउन खोजेका छन्। सत्ता गठबन्धनमा रहेका माओवादी र एकीकृत समाजवादीले भने उम्मेदवार अघि सार्ने कि नसार्ने निर्णय लिएका छैनन्।

एमालेले बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार बसेको एमालेको सचिवालय बैठकले उम्मेदवार चयन गर्नुका साथै सत्ता गठबन्धनमा सहभागी दलहरूको समर्थन जुटाउने कसरत थालेको हो। बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। नेपाली कांग्रेसबाट विजयी पृथ्वीबहादुर सिंहको गएको असार ५ गते सवारी दुर्घटनामा निधन भएपछि सो क्षेत्र रिक्त छ।

निर्वाचन आयोगले वैशाख १५ गते उपनिर्वाचन गर्ने तय गरिसकेको छ। स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिने, २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहने कार्यतालिका छ।

वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान गर्ने निर्वाचन आयोगको योजना छ। नेपाली काँगे्रसले उम्मेदवारको अन्तिम टूंगो लगाइसकेको छैन भने एमालेले उम्मेदवार बनाएका भण्डारी अहिले जिल्ला कमिटी बझाङका अध्यक्ष हुन्। २०५४ सालमा मटेला गाविसको निर्वाचित अध्यक्ष भएका उनी २०५५ सालमा जिल्ला कमिटी सदस्य, निर्वाचन क्षेत्र १ को क्षेत्रीय कमिटी सचिव थिए।

२०६२ साल राष्ट्रिय युवासंघ नेपाल अञ्चल कमिटी सचिव, २०६९ साल सातौं जिल्ला अधिवेशनबाट नेकपा एमाले जिल्ला कमिटी सचिव हुँदै हाल पार्टी जिल्ला अध्यक्ष छन्। २०५१ र २०६४ सालमा नेकपा एमालेबाट निर्वाचित नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी अहिले नेकपा एमालेकै उम्मेदवारलाई हराएर प्रतिनिधिसभा सदस्य छन्।

चर्चामा

सम्बन्धित समाचार