बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • लैंगिक हिंसा बिरुद्ध देउडा गीत मार्फत आवाज उठादै बाजुराका महिला तथा किशोरी

लैंगिक हिंसा बिरुद्ध देउडा गीत मार्फत आवाज उठादै बाजुराका महिला तथा किशोरी

  • शनिबार, फाल्गुन २८, २०७८
लैंगिक हिंसा बिरुद्ध देउडा गीत मार्फत आवाज उठादै बाजुराका महिला तथा किशोरी

बाजुरा–बाजुराका महिला तथा किशोरी यसरी देउडा गित मार्फत लैंगिक हिंसा बिरुद्ध अभियान चलाइरहेकि छन् । हिंसा बिरुद्ध बिभिन्न चेतनामुलक कार्यक्रम सँगै देउडा मार्फत आवाज उठाउने काम भइरहेको छ । केही दिन पहिला १ सय १२औं अन्तरास्ट्रिय महिला दिवसको अवसरमा बाजुराका बिभिन्न ठाउँमा वक्तृत्वकला तथा देउडा गीत प्रतियोगितामा भएका थिए ।
महिलाको सम्मानै छैन हाम्रो नेपाल देश…
दिनका दिन भयाका भयै बलात्कारी केश…

गाउँघरमा जाँड रक्सीको हल्ली चल्ली भयो…
बहुविवाहा लैंगिक हिँसा धेरै हुन लाग्यो…

छोरीलाई बनपाखा घाँसदाउरा कटाउने…
छाउपडीलाई बाहिरी राख्ने कुरीति कस्ले हटाउने…
स्थानीय महिलाहरुले आफ्ना बेदना, आक्रोश तथा आह्वान देउडा गीत मार्फत सुनाएका थिए । जिल्लाका बिभिन्न ठाउँमा गरिएका कार्यक्रममा सहभागीहरुले आफ्ना गीत, नृत्य तथा वक्तब्य मार्फत आवाज उठाएका थिए । महिला अधिकार, सचेतना, लैंगिक हिँसा, लैंगिक समानता लगायत बालविवाह, छाउपडी जस्ता हानिकारक अभ्यासहरुका सम्बन्धमा सन्देशमुलक सामग्रीहरु प्रस्तुत गरेका थिए । कार्यक्रमका सहभागी महिला तथा किशोरीहरुले परिवार समाजमा भोग्दै आएका भेदभाव तथा शोषणलाई आफ्ना गीत मार्फत उजागर गरेका थिए । केही सहभागीले रुढिबादि सोच र व्यवहार त्यागी महिला पुरुषबीच भेदभाव रहित समान व्यवहार कायम गर्नका लागि यसरी आह्वान गरेका थिईन् ।

नयाँ चाला, नयाँ चलन, नयाँ छ जमाना….
छोराछोरी सासु-ब्वारी सबैलाई समान…

सहभागि महिला तथा किशोरिहरुल महिला अधिकार र ऐन-कानुनका प्रावधानहरुको फितलो कार्यान्वयनमाथि सहभागीहरुले प्रश्न समेत उठाए ।

नियम कानुन नेपालका अझै सम्म भईन..
समान काम समान ज्याला अझै सम्म छैन..

तेत्तिस पर्सेन्ट अधिकार पाई दस पर्सेन्ट लागु भै…
बालबालिका महिला हिँसा भन्दा भन्दै कत्ति ज्यानै गै…

निर्मला बलात्कार हत्या त्यसै बन्द भो…
महिलाको अधिकार भन्दा कानुन कता गो…

कम उमेरमा बिवाह गर्न नहुने, बालविवाह कानुनीरुपमा दण्डनीय रहेको र बालविवाह जीवनपर्यन्त लैंगिक हिँसाको कारक सम्म बन्न सक्ने तथ्यहरु पनि कार्यक्रममा प्रस्तुत देउडा गीतका बिषयवस्तु वनाएका थिए ।

२० बर्ष नपुगेर नगरौं बिवाह…
दण्ड तिर्छन जेल जान्छन गरे बालविवाह…

कान थापी के कुना बस्या कानुन कार्वाई हुन्या..
बुझी बुझी बुझ पचाउदा बाल बिवाह गर्न्या..

महिला माथि थिचो मिचो महिला हिँसा हुन्छ….
कम उमेरमा बच्चा पाउदा महिलाको ज्यान जान्छ…
स्थानिय तह स्तरीय महिला अधिकार मन्चको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष if -UNFPA_, VSO, IPAS, पिसविन बाजुरा, सी एम सी नेपाल र जिल्ला प्रहरी कार्यालय बाजुराको समन्वय जिल्ला भरी कार्यक्रम भएका थिए । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक चतुर्भुज ओझाले महिला तथा किशोरीहरुले देउडा गीत तथा बक्तब्य मार्फत लैंगिक तथा घरेलु हिंसाका मुद्दाहरु उठान गरेको वताए । हिसांका घटनाहरु घरपरिवारमा नै गुपचुप रहने र प्रहरीसम्म नपुग्नाले हिँसा प्रभावितलाई कानुनी सेवा प्रदान गर्नमा चुनौती रहेको छ । प्रहरीले समस्या परेकालाई पैसा नलाग्ने नम्बर १०० मा फोन गरी वा अन्य माध्यमबाट घटनाबारे प्रहरीलाई जानकारी गराए आवश्यक कार्यवाहि अगाडी बढाउन सहयोग गर्ने प्रहरी प्रमुख ओझाले वताए ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका कार्यक्रम संयोजक आत्माराम न्यौपानेले महिला तथा किशोरीको बिरुद्दमा हुने लैंगिक विभेदमा आधारित सबै प्रकारका हिँसा र विभेदको न्यूनीकरण गर्ने लक्ष्य सहित कार्यक्रम अघि बढेको वताए । प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा स्वीस सरकार विकास नियोग र नर्वेजियन दुतावासको सहयोगमा लैंगिक विभेदमा आधारित हिँसा रोकथाम तथा प्रतिकार्य परियोजना संचालनमा रहेको छ । हिँसा प्रभावितहरुले जिल्लामा संचालित सुरक्षित आवास गृह, एकद्वार संकट व्यवस्थापन केन्द्र लगायतका सेवा प्रदायक निकायहरु मार्फत स्वास्थ्य, सुरक्षा, कानुनी, मनोसामाजिक परामर्श, आर्थिक-सामाजिक पुर्नस्थापना लगायतका प्रभावित-मैत्री बहुपक्षिय सेवाहरुमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले पनि सहयोग गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार