बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • असुरक्षित गर्भपतनले जिवनमरणको दोसाधमा कालि थापा, उपचारमा आर्थिक समस्या

असुरक्षित गर्भपतनले जिवनमरणको दोसाधमा कालि थापा, उपचारमा आर्थिक समस्या

  • शुक्रबार, माघ ७, २०७८
असुरक्षित गर्भपतनले जिवनमरणको दोसाधमा कालि थापा, उपचारमा आर्थिक समस्या

बाजुरा–बडिमालिका नगरपालिका ९ बस्ने २६ बर्षिय कालि थापा असुरक्षित गर्भपतनको कारणले जिवनमरणको दोसाधमा पुगेकी छन् । सदरमुकाम मार्तडी बाट गर्भपतनको औषधि लिएर खाएकि कालि अहिले सेति अञ्चल अस्पतालमा रगत अभाबमा छट्पटाइरहेकि छन् ।
गर्भपतन सँगै अत्याधिक रक्तस्राब भएपछि कालिलाई आफन्तले जिल्ला अस्पताल बाजुरामा लगेका थिए । उनको धेरै रक्तस्राब भएको र रगतको मात्र २ प्वाइन्ट मात्र हेमोगोलोबिनको मात्रा रहेको थियो । यहाँ उपचार सम्भब नभएपछि अछामको बयलपाटा रिफर गरेको अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरीले वताए । बयलापाटा अस्पतालमा १ पोका रगत चढाएर धनगढि रिफर गरेको थियो । उनलाई ओ नेगेटिभ रगत चाहिएको छ ।
कालिको अहिले सेति अञ्चल अस्पतालमा उपचार भइरहेको छ, रगतको निकै समस्या भएको श्रीमान राम बहादुर थापाले वताए । आर्थिक अबस्था निकै कमजोर भएका रामको परिवारलाई गाउँलेले चन्दा संकलन गरेर धनगढी पुयाएका थिए । श्रीमतिको लागि रगत किन्ने पैसा देखी एक सर्जिक मास्क किन्ने पैसा नभएको थापाले वताए । १ पोका रगत त जेनतेन पाएको छु, पैसा नहुदा उपचारमा समस्या भएको थापाले वताए ।
कालि थापाका ५ वटा छोरी रहेका छन् । छैटो पटक गर्भवती भएकि कालिले धनगढीमा गएर भुण्रपहिचान गराउदा छोरी छ भनेको थियो । छोरी भएपछि सदरमुकाम मार्तडीको एक मेडिकल बाट गर्भपतनको औषधि खाएकि थिईन् । औषधि खाएपछि गर्भपतन भएको थियो । तर गर्भपन पछि छोरा रहेको थियो, एकातिर गर्भमा छोरा रहेछ, अर्कोतिर गर्भपतन पछि अत्याधिक रक्तास्राब भएर कालि मृत्युको मुखमा पुगेकी हुन् । कालिको उपचारको सहयोगका लागि राम धनगढीमा भौतारीरहेका छन् । सदरमुकाम मार्तडीमा रहेको एक मेडिकलले गैरकानुनी रुपमा औषधि बिक्रि गर्दा यो अबस्था पुगेको एक स्थानियले वताए ।
कालि जस्तै लिङ्ग पहिचान गरि छोरा पाँउने आशमा गर्भपतन गर्दा धेरै महिलाहरुको ज्यान जोखिममा पर्ने गरेको छ । खप्तडछेडेदह गाउँपालिका १ बस्ने बिस्ना रोकायाले भु्रण पहिचान गर्दा छोरि छ भनेपछि दुई पटक गर्भपतन गराईन् । पहिलो पटक गर्भपतन गर्दा खासै असर नभएपनि दोस्रो पटकमा भने उनले झण्डै ज्याननै गुमाउनु परेको थियो ।
छोरा र छोरीबीचको बिभेद भ्रुणमा लिङ्ग पहिचानको मुख्य कारण रहेको महिला अधिकार मञ्च वाजुराकि अध्यक्ष रुखमणि शाहले वताईन् । भुणमै छोरा र छोरीमा भेदभाव हुने गरेको बताउदै उनले भनिन, बिभेदका क्षेत्रमा थुप्रै संघ संस्थाले काम गर्दै आएको भएपनि परिवर्तन भने हुन सकेको छैन । छोरा नभएमा श्रिमानले अर्को विवाह गर्ने, घर परिवार र समाजबाट अपेहेलित हुने भएकाले आफुहरुले बाध्य भएर गर्भपतन गराउनु पर्ने बाध्यता रहेको शान्ता रोकायाले वताईन् । छोरा नभएकै कारण धेरै महिलाले सौता खेप्नु परेको छ भने कतिले घरवाट निकाला समेत हुनु परेको छ ।
गर्भपतनले मुलुकमा कानुनी मान्यता पाएको छ । सुरक्षित गर्भपतन सेवा विस्तार रणनितिक तथा कार्य सञ्चालन सेवा निर्देशिका २०६६ का अनुसार स्वास्थ्य सेवा बिभाग, परीवार स्वास्थ्य महाशाखाबाट गर्भपतन सेवा प्रदान गर्ने ब्यक्ति र संस्था दुबैले प्रमाण-पत्र लिएको हुनुपर्छ । तर गाँउमा खोलिएका औषधि पसलबाट अदक्ष जनशक्तिका भरमा गर्भपतन गराउने काम भईरहेको छ । गर्भपतन गराउन नर्स, डाक्टरहरुले तालिम लिएको हुनुपर्छ । गर्भपतन गराउने स्वास्थ्य संस्था पनि सुचिकृत भएको हुनुपर्छ । कानुनत १२ हप्तासम्म र हाडनाता करणी छ भने १८ हप्ता सम्मको गर्भपतन गराउन पाइन्छ । तर भुण्रमा लिंग पहिचान १६ हप्ता पछि मात्र हुन्छ । छोरा या छोरी छुट्टिन १६ हप्ता समय लाग्छ, १६ हप्ता पछिको गर्भपतन गैर कानूनी हो । गाँउघरमा गैरकानुनी रुपमा सुचिकृत नभएका संस्था, चिकित्सक, एचए, अहेब, अनमि र अरु स्वास्थ्यकर्मीले समेत गर्भपतन गराईरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार