शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री देउवाले निरीक्षणका नाममा औपचारिकता मात्रै निभाएको पीडितको गुनासो

प्रधानमन्त्री देउवाले निरीक्षणका नाममा औपचारिकता मात्रै निभाएको पीडितको गुनासो

  • आइतवार, कार्तिक ७, २०७८
प्रधानमन्त्री देउवाले निरीक्षणका नाममा औपचारिकता मात्रै निभाएको पीडितको गुनासो

कैलाली —  ३ दिनदेखि लगातार परेको बेमौसमी वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा ३३ जनाको मृत्यु भइसकेको छ। २० जना अहिले पनि बेपत्ता छन् भने १७ जना घाइते भएका छन्। ठूलो संख्यामा भौतिक र मानवीय क्षति भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आलेसहितको टोली बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमनका लागि बिहीबार सुदूरपश्चिम आइपुगेको थियो। बाढीपहिरोले वितण्डा मच्चाएको क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री देउवा आफै सुदूरपश्चिम पुगेका थिए। देउवाले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हेलिकप्टरमार्फत प्रभावितहरूको अवस्थाबारे जानकारी लिएका हुन्।
प्रधानमन्त्री नै प्रभावित क्षेत्रमा आउने विषयले बाढीपहिरो पीडित निकै उत्साहित भएका थिए। तर प्रधानमन्त्री देउवाले भने अधिकांश पीडितलाई नभेटेरै फर्किपछि प्रभावितहरुले दुःख व्यक्त गरेका छन्। ‘प्रधानमन्त्री प्रभावित क्षेत्रमा आउने अपेक्षा थियो, तर हामीले गरेको अपेक्षा निराशामा परिणत भयो’ कञ्चनपुरको दोधाराचाँदनीका किसान दिपक चन्दले भने, ‘किसानका लागि कुनै प्याकेज घोषणा गर्ने अपेक्षा पनि थियो तर केही पनि हुन सकेन।’
प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रमा पुगेर आफ्ना समस्या नसुनेको पीडितहरुको आरोप छ। बाढीपहिरो प्रभावित क्षेत्रका स्थानीयले देउवालाई आफ्नो दुःख सुनाउनै नपाएको गुनासो समेत गरेका छन्। बैतडीमा पीडितले भेट गर्न पाएपनि राहतको आश्वासन भने पाउनै सकेनन्। गृह जिल्ला डडेल्धुरामा पनि पार्टी प्रतिनिधि र जनप्रतिनिधसँग मात्र भेटघाट गरेको आरोप लागेको छ। प्रधानमन्त्री देउवाले काठमाण्डौँ फर्किनुअघि भने धनगढी विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै काठमाडौं पुगेर मात्र राहत घोषणा गर्ने बताएका छन्।
सुदूरपश्चिम र कर्णालीको २ दिने भ्रमण गरेर फर्किएका देउवाले निरीक्षणको औपचारिकता मात्र निभाएको पीडितको गुनासो छ। निरीक्षणका नाममा प्रधानमन्त्रीले औपचारिकता मात्र निर्वाह गर्नुभन्दा पीडितसँग भेटघाट गर्नुपर्ने सुदूरपश्चिम प्रदेशकी प्रवक्ता पूर्णा जोशी बताउँछिन। ‘यस्तो अवस्थामा राष्ट्र प्रमुखको निरीक्षण हुनु राम्रो कुरा हो तर आवश्यक समन्वय गरेर पीडितसँग भेट गर्नुपर्दथ्यो’ उनले भनिन्। प्रदेश र स्थानीय तहसँग समेत समन्वय गरेर निरीक्षणको तालिका बनाउनुपर्नेमा उनको जोड छ।

तर पीडितहरुलाई घरघरमा गएर भेट्न सकिने अवस्था नभएको नेपाली कांग्रेस कैलालीका उपसभापति प्रकाशबहादुर बमले बताए। ‘निरीक्षणमा आउनु स्वभाविक हो तर तत्काल राहतको प्याकेज घोषणा गरेर कायान्वनयमा जोड दिनसके मात्र प्रभावित क्षेत्रको पुगेको सार्थक मानिन्छ’ उनले भने, ‘पीडितलाई घरघरमा गएर भेट्नुभन्दा राहत घोषणा गरेर कार्यान्वयन भएको हेर्न चाहन्छौँ।’

धानबाली भित्र्याउने समयमा परेको बेमौसमी वर्षाले ठुलो धनजनको क्षति पुगेको अवस्थामा संघ, प्रदेश र स्थानीय तहले समेत राहत र किसानको हितमा हुनेगरी आगामी कार्यक्रम ल्याउनु आवश्यक रहेको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयले बताउँदै आएको छ। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार