बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • ओलीसँग भेटघाट गर्न बालकोट पुगिन् एमसिसी उपाध्यक्ष

ओलीसँग भेटघाट गर्न बालकोट पुगिन् एमसिसी उपाध्यक्ष

  • बिहिबार, भदौ २४, २०७८
ओलीसँग भेटघाट गर्न बालकोट पुगिन् एमसिसी उपाध्यक्ष

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले काठमाडौंमा भेटघाट थालेकी छन्।

बिहीबार बिहान कतार त्रिभुवन विमानस्थलमा ओर्लिएकी सुमारले दिउँसोदेखि भेटघाट थालेकी हुन्। उनले सबैभन्दा पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेकी छन्। ओलीलाई भेट्न सुमार दिउँसो उनको निवास बालकोट पुगेकी हुन्। उनीसँगै एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि छन्।

अध्यक्ष ओली र सुमारबीचको भेटमा नेकपा एमालेका नेताहरू बिष्णु रिमाल र राजन भट्टराई पनि सहभागी भएका छन्।

यसअघि बुधबारमात्रै एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले एमसिसी पारित गर्ने जिम्मा आफूहरूको नभएको बताएका थिए। ओली सरकार हुँदा एमसिसी संसदमा पेश भएको थियो।

एमसिसीबारे विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला सुमार नेपालका राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्न काठमाडौं आइपुगेकी हुन्। उनले सत्तारूढ दलका नेताहरूलाई पनि भेट्ने कार्यक्रम छ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग उनको भेट शुक्रबारका लागि तय भएको देउवाको सचिवालयले जनाएको छ।

एमसिसीबारे पछिल्लो समय नेपालमा विरोध प्रर्दशन भइरहेकाले नेपाल भ्रमणमा आएका एमसिसी पदाधिकारीहरूको सुरक्षालाई ध्यानमा राखी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ भने मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

‘उच्छृङखल गतिविधिहरू नहोऊन् भनेर सुरक्षा बढाएका छौं,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी हरिबहादुर पालले भने।

सुरक्षा चुनौतीलाई मध्यनजर गरी सुमार र ब्रुक्सको सुरक्षामा सादा पोशाकका प्रहरी पनि खटाइएको छ। नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक-आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलो पटक भएको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ।

चर्चामा

सम्बन्धित समाचार