बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • खाडी मुलुक जान काठमाडौंको बाटो प्रयोग गर्दै भारतीय, दूतावासअगाडि बिहानैदेखि सयौंको लाइन (तस्बिरहरू)

खाडी मुलुक जान काठमाडौंको बाटो प्रयोग गर्दै भारतीय, दूतावासअगाडि बिहानैदेखि सयौंको लाइन (तस्बिरहरू)

  • शुक्रबार, चैत्र २७, २०७७
खाडी मुलुक जान काठमाडौंको बाटो प्रयोग गर्दै भारतीय, दूतावासअगाडि बिहानैदेखि सयौंको लाइन (तस्बिरहरू)

लैनचौरस्थित भारतीय राजदूतावासअगाडि लामो लाइन थियो। उज्यालो नहुँदै दूतावासको गेटअगाडि लाइन बसेकाहरू भारत जान भिसा लिन लागेका अरू देशका नागरिक थिएनन् बरू खाडी जान लागेका भारतीय नै थिए। पछिल्लो समय दूतावासअगाडि यस्तो लाइन देखिन्छ। लाइनमै भेटिए, दक्षिणी भारत केरलाका ३२ वर्षीय समिर।

समिर तीन महिनाअघि साउदी अरबबाट भारत फर्किएका थिए। विदामा घर आएका उनको विदा सकियो तर भारतबाट साउदी अरबको उडान बन्द भइदियो। कोरोनाभाइरसको संक्रमण बढेसँगै साउदीलगायत खाडी मुलुकले भारतबाट हुने सिधा उडान बन्द गरिदिएका छन्।

साउदीमा ड्राइभर काम गरिरहेका समिर भारतबाट हुने उडान खुल्ने छाँटकाँट नदेखेपछि नेपालको बाटो हुँदै जाने गरी १२ दिन अघि काठमाडौं आए। कम्पनीले फर्किन ताकेता गरेपछि जानै पर्ने भयो। उडान खुलेको थिएन। नेपालबाट जान पाइन्छ भन्‍ने कुरा थाहा पाएपछि यहाँ आएको हुँ। आज बिहान सात बजेदेखि लाइनमा लागेको। अहिलेसम्म पालो आएको छैन,’ समिरले सेतोपाटीसँग भने।

१० वर्षदेखि साउदीमा काम गर्दै आएका समिर दूतावासबाट नो अब्जेक्सन लेटर पाएपछि आइतबार/सोमबार साउदीका लागि उड्ने तयारीमा छन्।

कोरोनाभाइरस संक्रमणको जोखिम बढेको भन्दै साउदी अरबले फेब्रुअरी पहिलो सातादेखि भारतलगायत २० देशबाट हुने सिधा उडान रोकेपछि भारतीयहरूले नेपालको बाटो रोजेका छन्।

साउदीले भारतलगायत देशमा पछिल्लो १४ दिन यात्रा गरेकाहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो। यात्रु नै नभएपछि उडान बन्द भयो। साउदीको उक्त नियमपछि भारतीयहरू नेपालको बाटो भएर साउदी जान थाले। साउदी अरबका होटललगायत अन्य क्षेत्रमा १५ लाख भारतीयले काम गर्ने गरेका छन्।

भारतीयहरू नेपाल आएर १४ दिन होटलमा बसेर (क्‍वारेन्टिन) बसेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै साउदीलगायतका खाडी मुलुक जाने गरेका छन्। पछिल्लो समय काठमाडौंका होटलमा भारतीय पाहुनाहरू पनि ह्वात्तै बढेका छन्।

‘काठमाडौंका सामन्यदेखि पर्यटकस्तरीय होटलमा उनीहरू क्‍वारेन्टिन बस्‍ने गरेका छन्। यहाँ आएर बस्‍छन् र यहाँबाट सिधै वा ट्रान्जिटबाट साउदी अरब जाने गरेका छन्,’ एक होटल व्यवसायीले भने।

भारतीयहरू ठूलै संख्यामा आउन थालेपछि व्यापार पनि राम्रो भएको होटल व्यवसायीहरूले बताएका छन्।

भारतीय नागरिकले नेपालीको बाटो हुँदै साउदी जाने गरेकोबारे अध्यागमन विभागले भने कुनै जानकारी नरहेको बताएको छ।

विभागले अहिलेसम्म भारतीयहरू स्थल तथा हवाई मार्गबाट आउने गरिरहेको भए पनि कुन प्रायोजनका लागि आए र यहाँबाट कुन देश उडे भन्‍ने कुराको विस्तृत तथ्यांक संकलन नगरिएको बताएको छ।

‘सामान्य संख्या हामीले संकलन गर्ने हो। नेपालबाट उनीहरू कहाँ गए भन्‍ने कुराको तथ्यांक विश्लेषण गरेका छैनौं। कम्तिमा एउटा समय कटेपछि यसबारे जानकारी हुन्छ होला,’ विभागका प्रवक्ता जनकनाथ ढकालले भने। भारतीयहरूलाई नेपालसम्म ल्याउन नेपाल र भारतका ट्राभल एजेन्सीहरूले सघाइरहेका हुन्छन्।

स्थानीय ट्राभल एजेन्सीहरूको सहायता तथा जानकारीका आधारमा नेपाल आएको दूतावासको लाइनमा बसेका पञ्‍जाबका रोमी चौधरीले बताए। पछिल्लो समय हवाइ मार्गबाटै नेपाल आउने भारतीयको संख्या ह्वात्तै बढेको छ। काठमाडौं-नयाँदिल्ली अहिले दैनिक २ उडान हुन्छन्।

अघिल्लो महिनाभर ७ हजार भारतीय नेपाल आएका थिए भने पछिल्लो १५ दिनमै ६ हजार ७८ जना हवाई मार्गबाट नेपाल आएका छन्।  पछिल्लो १५ दिनमा ३ हजार २ सय भारतीयहरू काठमाडौं विमानस्थलबाट बाहिरिएका छन्। यो तथ्यांकले पनि पछिल्लो समय नेपालमा भारतीय पासपोर्ट बोकेका नागरिकको चहपहल बढेको देखाउँछ।

नेपालबाट साउदीमा सिधा उडान गर्दै आएको हिमालय एयरलाइन्सले भने कुनै पनि भारतीय नागरिकलाई नबोकेको जानकारी दिएको छ।  हिमालयकी प्रवक्ता उज्जला दलीले नेपालबाट साउदीमा रियाद र दमाममा उडान गरिरहेको र अहिले त्यहाँ नेपाली यात्रुकै माग ठिक रहेकाले कुनै पनि भारतीय नागरिकलाई सेवा नदिएको बताइन्।

‘हामीलाई पनि ट्राभल एजेन्सीहरूले भारतीय नागरिकलाई सिफारिस गर्नुहुन्छ। तर अहिलेसम्म हामीले त्यस्ता यात्रुलाई स्वीकार गरेका छैनौं,’ उनले भनिन्। खाडी मुलुकमा अहिले काठमाडौंबाट हिमालयबाहेक नेपाल एयरलाइन्स, एयर अरेबिया, फ्लाई दुबई, कतार एयरवेजलगायत एयरलाइन्सले उडान गर्दै आएका छन्।

चर्चामा

सम्बन्धित समाचार