मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूर पहाडी जिल्लामा टेलिकमको ‘टेक्नोलोजी’, ‘२ जी’ को संरचनामा ‘४ जी’को भारले सेवा नै प्रभावित

सुदूर पहाडी जिल्लामा टेलिकमको ‘टेक्नोलोजी’, ‘२ जी’ को संरचनामा ‘४ जी’को भारले सेवा नै प्रभावित

  • शुक्रबार, माघ ९, २०७७
सुदूर पहाडी जिल्लामा टेलिकमको ‘टेक्नोलोजी’, ‘२ जी’ को संरचनामा ‘४ जी’को भारले सेवा नै प्रभावित

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका नागरिकहरु नेपाल टेलिकमको फोन नलाग्ने समस्याले आजित भएका छन्। सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका ग्रामीण भेगमा नेपाल टेलिकमको फोन सेवाले निरन्तर काम नगर्दा सर्वसाधारणले समस्या भोग्नु परेको छ।

राति १० बजेदेखि अर्को दिन १० बजेसम्म फोनको नेटवर्क नहुँदा सजिलै फोन नलाग्ने गरेको पहाडी जिल्लाका स्थानीयले बताएका छन्। ‘टेलिकमले टावरमा विद्युत आपूर्तिको लागि सोलार जडान गरेको छ। तर ती सोलारबाट टावरलाई २४ औं घण्टा चाहिने विद्युत आपूर्ति गर्न नसक्दा हामीले सम्पर्कविहीन बस्नुपरेको छ’ बझाङको बित्थडचिर गाउँपालिकाका स्थानीय विष्णुदत्त जोशीले भने।

सुदूरपश्चिमको ७ पहाडी जिल्लाको ग्रामीण बस्तीमा टेलिकमको नेटवर्क समस्या देखिएको हो। बझाङ, बाजुरा, डोटी, अछाम, दार्चुला, डडेल्धुरा र बैतडी जिल्लामा टेलिकम सेवा प्रभावकारी नरहेको बताइएको छ। बैतडीको पञ्चेश्वरका स्थानीय नरेन्द्र चन्दले भने, ‘नेपाल टेलिकमको नेटवर्कको समस्याले निकै दुःख दिने गरेको छ। फोन नलाग्ने, इन्टरनेट चल्दै नचल्ने हुँदा सीमावर्ती गाउँका स्थानीयले भारतीय सीम प्रयोग गर्ने गरेको छन्।’

टावर निर्माण गर्दा कमसल सोलार ब्याट्री जडानले चार्ज नटिक्ने समस्याले आफुहरुले दुःख पाइरहेको बैतडीको पुर्चौडीका स्थानीय कर्णबहादुर कुँवर बताउँछन्। उनले भने, ‘ बैतडीका अधिकांश ठाउँमा फोन सेवा अवरुद्ध हुने कारणले निकै सास्ती भोग्नु परेको छ। पुर्चौडी, डिलाशैनी, सिगास, शिवनाथ, मेलौली र पञ्चेश्वरमा मात्रै नभइ दशरथचन्द र पाटन नगरपालिका बिभिन्न स्थानमा समेत फोन सेवा र इन्टरनेट सेवा चलाउन निकै हैरानी खेप्नु परिरहेको छ।’

नेपाल टेलिकमले पहाडी जिल्लामा सोलार पावरबाट सञ्चालित टावर भएको कारण नेटवर्कमा समस्या हुने गरेको बताउन थालेको छ। नेपाल टेलिकमको प्रदेश कार्यालय अतरियाका निमिक्त प्रमुख विश्वराम कोजुले भने, ‘टु जी र थ्री जी सेवाका लागि निर्माण गरिएका टावरमा फोर जी सेवा थप गर्दा बिद्युत खपत दोब्बर हुँदा चाँडै सोलार ब्याट्री डाउन हुने हुँदा समस्या आएको हो। सो समस्या समाधान गर्न ब्याट्री थप्ने र पहाडी क्षेत्रमा टावरको संख्या समेत समस्या पहिचानका आधारमा थप्ने योजना टेलिकमको रहेको छ।’

अहिलेसम्म काम हुनेबारे टेलिकमले नै अविज्ञता प्रकट गरेको छ। कोजुले भने, ‘फोर जी सेवा सञ्चालन गरिएपछि प्रदेशभर ८२ वटा नयाँ टावर निर्माण गर्ने काम सम्पन्न भएपछि नेटवर्कको समस्या हट्ने छ।’ दिनेश खवर 

चर्चामा

सम्बन्धित समाचार