त्यो कालो दिन सम्झँदा आज पनि हाम्रा आँखामा आँसु झर्छ,मन भित्र गहिरो घाउ बल्झिन्छ।देश र जनताको मुक्तिका लागि सपनाहरू बोकेर अघि बढेका चेतनदीपजस्ता वीर सपूतलाई हामीले गुमाएका छौं। तर दुःखको कुरा के हो भने त्यो घाउलाई मलहम लगाउने त कुरै छैन।आज दुई वर्ष बितिसकेको छ ।
स्वर्गीय चेतनदीप ऐडीजस्ता सपूतका स्मृतिहरूमा आँसु चुपचाप बगिरहेछन्।उहाँका मुक्ति र न्यायका लागि लडेका युवाहरू दुई वर्षदेखि जिल्लाको अदालतको ढोका ठोकिरहेछन्।तर, समयले न्याय होइन, केवल पीडा थपिदिँदैछ।महिना–महिना म्याद फेरिन्छ, नयाँ तारिख आउँछ,तर आशाको त्यो ढोका अझै खुल्दैन।
यी युवा आफ्नो स्वार्थका लागि थिएनन्।
उनीहरू आफ्ना पार्टीका मुक्ति र जनताको अधिकारका लागि लडे उनीहरूले विश्वास गरेका थिए ,सत्यका पक्षमा लडेपछि न्याय अबश्य मिल्छ। तर आज, उनीहरू आफ्नै देशको न्यायालयमा न्यायको भीख माग्न बाध्य छन्। जबकि 2 वर्ष भैसक्यो अझै टुङ्गो लागेको छैन ।हिजोका दिनमा गगनभेदी नाराहरू गुञ्जाएका यी युवाहरू,आज मौन छन निराश छन् तर अझै पनि मुक्ति र न्यायको आशामा संघर्ष गरिरहेका छन्।
प्रश्न उठ्छ ।
कहिलेसम्म उनीहरू यस्तै अपमान सहनुपर्ने?
कहिलेसम्म निर्दोष सिपाहीहरू अन्यायको शिकार बन्नुपर्ने?कहाँ गुम भयो त्यो पार्टीले गरेको न्यायको वाचा ?
कहाँ हरायो त्यही संगठन, जसले आफ्नो सिपाहीहरूलाई कसम खुवाएको थियो ।तिमीहरूको रगतको मोल चुकाइनेछ भनेर ?
हामी प्रश्न गर्छौं :-
के न्याय पाउन यति धेरै दुःख सहनैपर्छ ?
के म्याद फेरि फेरि बढाएर निर्दोष युवाहरूको जीवनलाई बन्धक बनाउन मिल्छ ?
के न्याय पर्खिनु पाप हो ?
अब ढिलो नगरौं।
यी युवाहरूको बलिदान र विश्वास माथि राजनीति नगरौं।
चाँडोभन्दा चाँडो निर्दोष योद्धाहरूलाई मुक्ति दिनुपर्छ।
नत्र, भोलिका दिनहरूमा पार्टीका पङ्क्तिहरू भित्रैबाट बिखण्डनको पीडा झेल्नुपर्नेछ।न्याय मरेको देशमा सपना पनि मर्छ।अब समय आएको छ, न्याय ढिलो नगरौं, निर्दोष युवाहरूलाई तुरुन्त मुक्ति दिनुहोस्, सच्चा सिपाहीहरूको सम्मान गरौं अपमान होइन, यदि अझै मौनता र बेवास्ता जारी रह्यो भने भोलि जनताको विश्वास गुम्नेछ र नेकपा (एमाले) पार्टी स्वयं ठूलो धोका, असन्तोष र संकटमा फस्नेछ।
त्यसैले न्याय जिउँदै राख्न चाँडो न्याय देऊ।चाँडो मुक्ति गर।हामी थाकेका छैनौं। हामी अझै पनि आशा बोकेर कुर्दैछौं र कुरेका छौ ।