बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विचित्र संसार
  • चिहानबाट आवाज आयो,‘म कहाँ छु ?’

चिहानबाट आवाज आयो,‘म कहाँ छु ?’

  • बिहिबार, कार्तिक १४, २०७६
चिहानबाट आवाज आयो,‘म कहाँ छु ?’

आयरल्यान्डको किल्केनी शहरमा गत अक्टोबर १२ मा एउटा शोकसभामा सरिक भएकाहरू मज्जाले हाँसे। मलामीलाई हँसाउने काम अरू कसैले नभएर दिवंगत व्यक्तिले गरेका थिए। मरणोपरान्त ठट्टा गर्ने ती व्यक्ति थिए, आइरिस सुरक्षा बलका वरिष्ठ सुरक्षाकर्मी शे ब्राड्ली।

ब्राड्ली ६२ वर्षका थिए। तीन वर्षदेखि थला परेका उनी गत अक्टोबर ८ मा बिते। चार दिनपछि अन्त्येष्टि कार्यक्रम थियो। साथीभाइ, छरछिमेक र आफन्त शोकसभामा सरिक थिए। ब्राड्लीको शव कफिनमा राखेर गाडिएको मात्र के थियो, कफिनबाट आवाज आयो, ‘मलाई बाहिर निकाल, यहाँ अँध्यारो छ।’ मलामीहरू विस्मित मात्र भएनन्, उनीहरू एकअर्कालाई हेरेर हाँस्न पनि थाले।

कफिनबाट आवाज आइरह्यो, ‘म कहाँ छु ? पादरी के बोलिरहेका छन्, हँ ? म शे हुँ। बाकसमा छु। हेल्लो, हेल्लो ! सबैसँग अन्तिम पटक बिदा माग्छु।’

कफिनबाट शवले बोलेको भिडियो आयरल्यान्डको सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो। छोरी एन्ड्रियाका अनुसार एक वर्षअघि नै ब्राड्लीले आफ्नो अन्त्येष्टिमा यस्तो ठट्टा गर्ने व्यवस्था मिलाइसकेका थिए। आफ्ना छोरा जोनाथन र केही नातिलाई मात्र उनले यसबारे बताएका थिए। आफ्नो अन्त्येष्टिमा स्पिकरबाट आफ्नो बोली सुनाउने प्रबन्ध गरेका थिए। यो उनको अन्तिम इच्छा पनि थियो। सोही बमोजिम उनका नातिहरूले जमिनमुनिबाट स्पिकरमार्फत उनको आवाज आउने व्यवस्था मिलाएका थिए।

‘मेरा बुबा जिउँदो दिल भएको मान्छे हुनुहुन्थ्यो,’ छोरी एन्ड्रियाले भनिन्, ‘सधैँ खुशी रहनुहुन्थ्यो। हाँसिरहनुहुन्थ्यो, रमाइरहनुहुन्थ्यो, ख्यालठट्टा गरिरहनुहुन्थ्यो। उहाँले एक वर्षअघिदेखि मेरो दाजु जोनाथनसँग मिलेर अन्तिम ठट्टाको योजना बुन्नुभएको थियो। हामीले उहाँको इच्छाबमोजिम सबै कुरा मिलायौँ। उहाँको भव्य बिदाइ गर्‍यौँ।’

आइरिस डिफेन्स फोर्स भेट्रान्स एसोसिएसनले आफ्नो फेसुबकमा ब्राड्लीप्रति समवेदना प्रकट गर्दै लेखेको छ, ‘सामान्य नागरिक र सेनाको हास्य चेतमा के फरक हुन्छ भनेर हामीलाई सोधिएको थियो। ब्राड्लीले यसको उत्तर दिएका छन्, श्यामव्यंग्य (ब्ल्याक ह्युमर) मार्फत।’

साभार अन्नपुर्ण पाेष्ट

चर्चामा

सम्बन्धित समाचार