बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • फिचर
  • अहिले हिरासतमा रहेका खानेपानि मन्त्री बिना मगरका पूर्वपतिको ‘दुःख’:माओवादी युद्धमा १० वर्ष जेल

अहिले हिरासतमा रहेका खानेपानि मन्त्री बिना मगरका पूर्वपतिको ‘दुःख’:माओवादी युद्धमा १० वर्ष जेल

  • बिहिबार, चैत्र १४, २०७५
अहिले हिरासतमा रहेका खानेपानि मन्त्री बिना मगरका पूर्वपतिको ‘दुःख’:माओवादी युद्धमा १० वर्ष जेल

भनिन्छ, ‘दुःख र सुखको संगम हो जिन्दगी।’ मान्छेका दुःख असिमित र भिन्नभिन्न हुन्छन्। अझ, राजनीतिमा साइनो राख्नेहरु दुखै–दुःखको भूमरीमा रुमलिएका हुन्छन्। यस्तै मध्येका एक पात्र हुन् शंकर अधिकारी।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका रौतहट जिल्ला इन्चार्ज अधिकारी अहिले हिरासतमा छन्। उमेरले झण्डै चार दशक यात्रा गरिसक्दा उनी गम्भीर मुद्दामा हिरासतमा छन्। उनलाई प्रहरीले हतियार खरखजाना, राज्यविरुद्धको अपराध र विस्फोटक पदार्थको मुद्दा लगाउने तयारी गरेको छ।

खानेपानि मन्त्री बिना मगरका पूर्वपति समेत हुन् शंकर। उनी शनिबार काभ्रेबाट पक्राउ परेका हुन्। बम बनाउँने पेस्तोल, बम बनाउने सामग्री तथा विभिन्न राजनीतिक दस्तावेजसहित नेकपाका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित अन्य ८ जनासँगै उनी प्रक्राउ परे।

१७ वर्षे कलिलो उमेरका शंकरलाई प्रहरीले यसैगरी २० वर्षअघि ललितपुरको ठूलो दुलुङबाट पक्राउ गरेको थियो। पहिलो पटक पक्राउ पर्दा उनी तत्कालीन नेकपा माओवादीको सशस्त्र विद्रोहमा संलग्न थिए। अहिले नेत्र विक्रमचन्द नेतृत्वको प्रतिबन्धित नेकपामा आवद्ध छन्।

शंकरसँग के थिएन ? बुबा नेपाली सेनाका रिटार्यड मेजर थिए। परिवारमा सुखको बहार थियो। परिवारमा अभाव कहिल्यै थिएन। तर, शंकर माओवादी विद्रोहको पहिरोबाट टाढिन सकेनन्। हजारौं युवा जसरी उनी सशस्त्र विद्रोहमा समेल भए। त्यसपछि शंकरको जीवनले भयानक यात्रा तय गर्यो।

धादिङमा जन्मिएका शंकरलाई बुवाको जागिरले सुर्खेत पुर्‍यायो। त्यहाँबाट उनले एसएलसी गरेका थिए। त्यसपछि काठमाडौं आएका उनी काठमाडौंमा माओवादीप्रति झुकाव राख्न थाले। त्यसबेला उनको सम्पर्कमा थिए शिव किरिङ।

माओवादीलाई बुझ्ने र आन्दोलनमा समाहित हुने उद्देश्यले उनी ०५५ मा काभ्रे पुगे। नेत्रविक्रम चन्द नेतृत्वकै उपत्यका इन्चार्ज माइला लामासँग उनको त्यसबेला काभ्रेमा भेट भयो। उनी प्रभावित भइहाले।

प्रभावित भएपछि उनी माओवादी आन्दोलनमा जोडिए। पार्टीका जनवर्गीय संगठनमा भन्दा पनि सिधै पार्टीकै काममा उनी त्यसपछि खटिन थाले।

ललितपुर ठूलो दुलुङमा ०५५ सालमा उनी गिरफ्तारीमा परे।। उनी पक्राउ पर्दा माओवादीविरुद्द प्रहरीले देशका विभिन्न स्थानमा किलोशेरा टु नामक अप्रेशन चलाइरहेको थियो।

प्रक्राउपछि त्यसबेला पनि अहिले जस्तै उनलाई हातहतियार तथा खरखजाना मुद्दा नै चलाइएको थियो। ८ वर्ष लामो त्यसबेलाको जेल जीवनका क्रममा उनी उपत्यकाका प्राय सबै जेलमा बसे। कहिले नख्खु कारागार त कहिले केन्द्रीय कारागार सेन्टल जेलमा।

संकटकालका बेला उनलाई सुन्दरीजल जेलमा समेत लगियो। पछि उनी डिल्लीबजार सदरखोरमा थिए। जब माओवादी ०६२/०६३ को जनआन्दोलनपछि शान्ति प्रक्रियामा आयो, त्यसपछि मात्र उनी सदरखोरबाट रिहा भए।

जेलबाट बाहिर आएपछि उनी पुनः पार्टीको सक्रिय राजनीतिमा लागे। त्यही समयमा काठमाडौंका विभिन्न कार्यक्रममा पार्टीले आयोजना गर्ने कार्यक्रममा भेटिइन् अहिलेकी खानेपानीमन्त्री बिना मगर।

बिना त्यो बेला माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला समितिकी अध्यक्ष थिइन्। शंकर भने पार्टीको राजनीतिमा थिए।

उपत्यकाभित्र पार्टी र जनवर्गीय संगठनमा काम गर्ने क्रममा हुने भेटले शंकर र बिना नजिक भए। काम गर्ने क्रममै बिना र शंकरबीच प्रेम बस्यो।

०६८ सालमा उनीहरूले जनवादी विवाह गरे। तर त्यो विवाह लामो समय टिकेन। त्यसबेला माओवादी पार्टीभित्रको चर्को अन्तरसंर्घषका क्रममा बिना अध्यक्ष प्रचण्ड तिर र शंकर वरिष्ठ नेता मोहन वैद्य किरण तिर लागेका थिए।

यो विवादले पार्टी विभाजन भयो। उनीहरु पनि अलग अलग पार्टीमा रहेर काम गरे। यसो हुदा पनि दुईबीचको सम्बन्धमा ब्रेक लागेको थिएन। तर जब बिना प्रचण्डका छोरा प्रकाश दाहाल (स्वर्गीय) सँगसँगै सगरमाथा चढन जाने सोचमा पुगिन्, त्यसपछि भने दुईको सम्बन्धमा दरार पैदा भयो।

अन्तत उनीहरुको सम्बन्ध टुंगियो। बिनाले शंकरलाई छोडेर प्रकाश दाहाललाई रोजिन्। शंकरको जीवनमा आएको यो अर्को दुःख थियो। समय क्रममा वैद्य माओवादी पनि फुट्यो।

शंकर विप्लवतिर लागे। संगठनको काम सँगै उनले जीवनयापनका लागि आफ्नै व्यवसाय गर्न थाले। केही समय मासु पसल चलाए। बालाजु लोकतानित्रक चोकमा उनले मासु पसल चलाउँदै पार्टी काम गर्थे।

हेर्दा ह्यान्सी देखिने उनले बिनासँगको सम्बन्धमा ब्रेकपछि अर्को विवाह गर्न कहिल्यै सोचेनन्। उनी निरन्तर पार्टीको काममा लागिरहे। उनको कामको मूल्यांकन गर्दै पार्टीले उनलाई पछि रौतहट जिल्ला इन्चार्ज बनाएर पठायो। उनी काठमाडौंको मासु पसल छोडेर जिम्मेवारी निर्वाह गर्न पुगे।

शुक्रबार मात्रै उपत्यका छिरेका उनी शनिबार फेरि काभ्रेबाट पक्राउ परे। अहिले उनी विरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा चलाउनका लागि प्रहरीले ८ दिनको म्याद थप गरेर अनुसन्धान गरिराखेको छ।

विप्लव नेतृत्वको नेतालाई नियन्त्रणमा लिने क्रममा उनी पक्राउ परेका हुन्। यो पटक उनको जेल जीवन कति लामो हुन्छ, त्यो उनलाई नै पनि थाहा छैन। तर पनि उनी प्रहरीले ललितपुर अदालतमा म्याद थप गर्न ल्याउदा हाँस्दै आएका थिए।

उनका पहिलो पटकका जेल पार्टनर अशोक खडका अहिले क्यानडामा छन्। उनले शंकरको जीवनको दुखै-दु;खलाई सामाजिक सन्जाल फेसबुकमा यसरी सम्झिएका छन् :
‘बाउ आर्मीको मेजर थिए, उ १५ वर्षकै उमेरमा जनयुद्धमा लागेर ८ वर्ष जेल पर्‍यो , जेलबाट निस्केपछि हालकी बाहालवाला खानेपानी मन्त्री बिना मगरसँगग बिहे ग¥यो तर विवाह लामो समय टिकेन। फेरि आज विप्लवी कार्यकर्ताको रुपमा लामो समय जेल बस्नुपर्ने हुन सक्ने गरी शंकर अधिकारी पक्राउ परेछ। मान्छेका दुःख कहिल्यै सकिन्न। प्रक्राउ परेका सबे नेता कार्यकर्तालाई राजनीतिक व्यवहार गरियोस।’ (साभार : अन्नपूर्ण पोस्टबाट)

चर्चामा

सम्बन्धित समाचार