बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • चीनको २ अर्ब ४० करोड रुपैयाँ लगानीमा वैशाखदेखि पेट्रोलियम खानी उत्खनन् गरिने

चीनको २ अर्ब ४० करोड रुपैयाँ लगानीमा वैशाखदेखि पेट्रोलियम खानी उत्खनन् गरिने

  • बिहिबार, चैत्र १४, २०७५
चीनको २ अर्ब ४० करोड रुपैयाँ लगानीमा वैशाखदेखि पेट्रोलियम खानी उत्खनन् गरिने

काठमाडौं : चीनको अनुदान सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ। २ वर्षभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ देखि काम थाल्ने भएको हो।

चीनले २ अर्ब ४० करोड रुपैयाँ लगानीमा २ वर्षभित्र उत्खनन गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभाग स्रोतले जानकारी दिएको छ।

एक वर्षअघि चिनियाँ टोली दैलेख पुगेर खानी अध्ययन गरी तयार पारेको परियोजनाको विशेष प्रतिवेदन आइतबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक डा.सोमनाथ सापकोटाको नेतृत्वमा फागुन १२-१७ चीन पुगेर चाइना जिओलजिकल सर्भेका प्रतिनिधिसँग उत्खननसम्बन्धमा छलफल गरी काम सुरु गर्ने भएको हो।

२ वर्षअघि भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसँग पेट्रोलियम खानीको उत्खनन गर्न चीनलाई जिम्मा दिने सहमति भएको थियो।

चिनियाँ कम्पनीले दैलेखमा ड्रिलिङ गर्ने र पाल्पाको पहाडी क्षेत्रमा बम पड्काएर अध्ययन गर्ने तथा तराई क्षेत्रमा भाइब्रेसनबाट पेट्रोलको मात्रा र कुन स्तरको भनी पत्ता लगाउने छ।

चीन र नेपाल दुवैले यो परियोजनालाई निकै महत्वका साथ लिएका छन्। उत्खननको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने छन्। पेट्रोलियम पदार्थको खानी दैलेखको भैरवी गाउँपालिका-१ शिरस्थान र दुल्लु नगरपालिका-१० को नाभीस्थानमा छन्।

उत्खनन सामग्री र विषेशज्ञसहितको चिनियाँ टोली वैशाख दोस्रो साता आउने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारले यस वर्ष अन्वेषणका लागि रकम विनियोजन गरेको छ। चिनियाँ कम्पनीको रिपोर्टमा पेट्रोलियम पदार्थको पर्याप्त सम्भावना रहेको उल्लेख छ।

नवलपरासीमा फलामको धाउ परीक्षण

नवलपरासीको धौवादीमा रहेको फलाम खानी उत्खनन गर्न चीनले अध्ययन थालेको छ। खानी क्षेत्रमा रहेको धाउ परीक्षण गरी रिपोर्ट सरकारलाई बुझाइ सकेको छ।

चीनको छेन्दुस्थित साउथवेस्ट मेटार्लजीकल एन्ड जिओलजिकल टेस्टिङ सेन्टरबाट खनिज परीक्षण गरी फागुन १३ गते सरकारलाई प्रतिवेदन बुझाएको हो।

चर्चामा

सम्बन्धित समाचार