शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • रोकिएनन् स्वतन्त्र मधेसका गतिविधि, २४ घण्टा टिकेनन् सीके राउत

रोकिएनन् स्वतन्त्र मधेसका गतिविधि, २४ घण्टा टिकेनन् सीके राउत

  • मङ्लबार, फाल्गुन २८, २०७५
रोकिएनन् स्वतन्त्र मधेसका गतिविधि, २४ घण्टा टिकेनन् सीके राउत

काठमाडौं । विहीबार सर्वोच्च अदालतले छाड्ने आदेश दिएको भोलिपल्टै शुक्रबार स्वतन्त्र मधेस गठनबन्धनका अध्यक्ष सीके राउतले सरकारसँग ११ बुँदे सहमति गरे। त्यति मात्र होइन, उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग एउटै मञ्चमा बसेर राष्ट्रिय सभागृहबाट सम्बोधन पनि गरे।

सरकारले सीके राउतले विगतका गल्तीबाट पाठ सिक्दै मुलधारको राजनीतिमा आएको दाबी गरिरहँदा राउतका गतिविधि भने फेरिएका छैनन्। उसो त शुक्रबार ‘राजीनितक सहमति घोषणा’ कार्यक्रममा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग तुलना गर्दै सीकेको निकै प्रशंसा गरेका थिए।

तर, सहमतिको मसी नसुक्दै नेकपा भित्र र बारिहबाट यसको आलोचना हुन थालेको छ। विभिन्न शंका गर्न थालिएको छ। र, यही शंकालाई बल पुग्ने गरि सहमतिको भावना विपरित राउतको गठबन्धनले गतिविधि गरिहेको छ। यसमा राउतले पनि सहयोग गरिरहेको देखिन्छ।

सहमतिको २ नम्बर बुँदामा उल्लेख गरिरहेको ‘जनअभिमत’ शब्दावलीलाई आ–आफ्नै हिसाबले व्याख्या गर्न थालिएको छ। सरकारले निर्वाचनमार्फत समस्याको हल हुने बताएको छ भने सीके राउत र उनका कार्यकर्ताले सरकार जनमत संग्रह गर्न तयार भएको दाबी गर्दै प्रचार गरिरहेका छन्।
सहमति घोषणा कार्यक्रममा पनि राउतले सरकार जनमत संग्रह गर्न तयार भएपछि सम्झौता भएको सार्वजनिक रुपमै उल्लेख गरेका थिए।

तर, राउतपछि बोलेका प्रधानमन्त्री ओलीले न यसको खण्डन गरे न समर्थन। उनी यो विषयमा मौन बसे। जसले गर्दा शंका गर्ने आधार दियो। र, पछिल्लो समय सीके राउतका समर्थकले तराईमा सञ्चालन गरिरहेको गतिविधिले शंकाको घ्युमा आगो थप्ने काम भइरहेको छ। तर, सरकार यसमा मौन बसिरहेको छ।

सहमतिविपरित राउतका कार्यकर्ताले सहमति भएको भोलिपल्ट नै सिरहा, सप्तरी, सुनसरी लगायतका जिल्लामा स्वतन्त्र मधेसको झण्डासहित प्रदर्शन गर्दै आफ्नो जित भएको दाबीसहित नारावाजी गरेका छन्। भित्ते लेखन तथा, पर्चा–पम्पलेट, ब्यानर टाँस्ने काम गरेका छन्।

गठबन्धन र राउतबीच भएको ११ बुँदे सहमतिको ६ नम्बर बुँदामा ‘स्वतन्त्र मधेस गठवन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताव, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामाग्री आदिलाई भविष्यमा कारवाहीको बिषय बनाईने छैन’ भनिएको छ।

त्यस्तै, आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन भनिएको छ। तर, सीके राउत र उनका कार्यकर्ताले सहमतिको मर्मविपरित पुरानै गतिविधि दोहोर्याइहेका छन्। राउत स्वयमले पनि सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा स्वतन्त्र मधेसका पक्षमा बल पुग्ने गरि प्रचार सामाग्री राखि रहेका छन्।

सरकार जनमत संग्रह गर्न तयार भएको भन्ने प्रचार सामाग्री पनि सीकले सामाजिक सञ्जालमा राखिएका छन्। यसले सरकार र सीके राउत नेतृत्वको गठनबन्धनबी भएको सहमतिप्रति जर्बजस्त प्रश्न उब्जाएको छ।

चर्चामा

सम्बन्धित समाचार