बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • सामाजिक सुरक्षा कोषमा दर्ता हुने म्याद आज सकिँदै

सामाजिक सुरक्षा कोषमा दर्ता हुने म्याद आज सकिँदै

  • सोमवार, फाल्गुन ६, २०७५
सामाजिक सुरक्षा कोषमा दर्ता हुने म्याद आज सकिँदै

१५११ रोजगारदाता कम्पनी दर्ता, अरु सम्पर्कमा आएनन्

६ फागुन, काठमाडौं । गत मंसिर ११ गते भव्य समारोहको आयोजना गरेर सरकारले श्रमिकका लागि योगदानमा आधारित समाजिक सुरक्षा योजना घोषणा गर्‍यो । यो कार्यक्रमले श्रमिकहरुमा खुसी ल्यायो । श्रमिकहरुले यसको खुलेरै प्रशंसा पनि गरे ।

सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन रोजगारदाता कम्पनी तथा व्यवसायिक संस्थाहरुलाई समयसीमा तोकेको थियो । काठमाडौं उपत्याकाका ३ जिल्लाभित्रका रोजगारदाताहरु मंसिर ६ देखि फागुन ६ गतेभित्र कोषमा दर्ता हुनुपर्ने समयसीमा तोकिएको थियो । त्यसको म्याद आजै सकिँदैछ ।

रोजगारदाताहरु कोषमा दर्ता हुने कार्य सकिएको छैन । खासै उल्लेखनीय रुपमा दर्ता हुन नआए पनि रोजगारदाताहरुको दर्ता हुने इच्छा बढ्दो मात्रामा रहेको कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीको दाबी छ ।

हालसम्म कति दर्ता भए ?

आज अर्थात फागुन ६ गते काठमाडौं उपत्यकाभित्रका ३ जिल्लाका लागि तोकिएको समयसीमा सकिँदैछ । समयसीमा सकिने अघिल्लो दिन आइतबारसम्म जम्मा १ हजार ५ सय ११ रोजगारदाताहरु कोषमा दर्ता भएको कोषकी निर्देशक रमा भट्टराईले अनलाइनखबरलाई जानकारी दिइन् ।

निर्देशक भट्टराईका अनुसार कोषमा आइतबारसम्म दर्ता भएका १ हजार ५ सय ११ मध्ये ९० प्रतिशत भन्दा बढी काठमाडौं उपत्यकाभित्रैका छन् । ९० प्रतिशत बढी भए पनि काठमाडौं उपत्यकाका लागि यो पर्याप्त भने नभएको भट्टराई बताउँछिन् ।
यो पनि पढ्नुहोस सामाजिक सुरक्षा योजनाः कहाँबाट आयो ? श्रमिकलाई के फाइदा ?

यद्यपि सुरक्षा कोषमा दर्ता नै नभए पनि बुझ्न आउने क्रम जारी रहेकाले निराश हुनुपर्ने कुनै कारण नभएको उनको दाबी छ । क्रमिकरुपमा सबै रोजगारदाताहरु आउने उनी बताउँछिन् ।

उपत्यकाबाहेक प्रदेश ३ का रोजगारदाताले कोषमा अवद्ध हुन मंसिर १५ देखि फागुन १५ भित्रको समयसीमा दिइएको छ । त्यसैगरी प्रदेश १ का रोजगारदाताले पुस १ देखि चैत १ सम्मको समयसीमा पाएका छन् । प्रदेश २ का रोजगारदाताले पुस १५ देखि चैत १५ सम्म र गण्डकी एवं प्रदेश ५ का रोजगारदाताले माघ १ देखि बैशाख १ गतेसम्मको समयसीमा पाएका छन् ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका रोजगारदाताले माघ १५ देखि वैशाख १५ भित्र सामाजिक सुरक्षा कोषमा निवेदन दर्ता गराउनुपर्ने गरी समयसीमा तोकिएको थियो ।

उपत्यकाको समयसीमा सकियो, अब के हुन्छ ?

काठमाडौं उपत्यकाभित्रका ३ जिल्लाका रोजगारदाताहरुलाई कोषमा दर्ता हुन आउन सरकारले दिएको समयसीमा सोमबार सकिँदैछ । समयसीमा सकियो, अब के हुन्छ ? कोषका कार्यकारी निर्देशक अधिकारी भन्छन्, ‘हामी सकेसम्म छिटो आउन रोजगारदाताहरुलाई आग्रह गर्छांै, अरु रणनीति भने बनाइसकेका छैनौं ।’
यो पनि पढ्नुहोस सामाजिक सुरक्षा योजना : सुरेन्द्र पाण्डेको सोच, ‘मजदुर नेता’को जोड

आइतबारसम्म देखिएको १ हजार ५ सय ११ रोजगारदाताहरु धेरै कम भएको र कोषले योगदान रकम संकलन गर्नु अघिसम्म भने रोजगारदाताहरु आइसक्नेमा आफू ढुक्क भएको अधिकारीले बताए ।

केही ठूला रोजगारदाताहरुले दिँदै आएको सेवा सुविधाभन्दा यो कम हुने र साना रोजगारदाताहरुले दिएको सुविधा भन्दा धेरै भएकाले धान्न नसक्ने र सक्दैनौं कि भन्ने कुराहरु पनि आएको उनले बताए ।

यद्यपि, पछिल्लो समय भने रोजगारदाताहरुको अत्यधिक चासो देखिएको उनले बताए । दर्ता हुनका लागि बुझ्न आउने क्रम भने रोजगारदाताको बढ्दो रहेको उनले बताए ।

साना उद्योगी व्यवसायीमा त्रास हटेन

ठूला उद्योगी व्यवसायीहरुले यो कार्यक्रमको विपक्षमा खासै नबोले पनि साना उद्योगी व्यवसायीहरुमा भने अझै पनि कार्यान्वयन गर्न नसकिने हो कि भन्ने चिन्ता देखिएको छ ।

सामाजिक सुरक्षा लागू गर्न ठूला रोजगारादाताहरुलाई समस्या नदेखिए पनि साना उद्योगी व्यवसायीहरुलाई यसको कार्यान्वयनमा समस्या देखिएको नेपाल घरेलु तथा साना उद्योग महासंघका वस्तुगत उपाध्यक्ष मोहन कटुवाल बताउँछन् ।

रोजगारदाता मात्रै नभएर श्रमिकका कारण कारण पनि यसको कार्यान्वयनमा समस्या देखिएको उनको तर्क छ । यो कार्यक्रमलाई नराम्रो भन्न भने नसकिने कटुवालको तर्क छ ।

‘कार्यक्रम एकदमै राम्रो छ, यसलाई नराम्रो भन्नै मिल्दैन । तर, कार्यान्वयनमा हाम्रो तर्फबाटमात्रै नभएर श्रमिकको तर्फबाट पनि समस्या छ’ उपाध्यक्ष कटुवालले भने, ‘यो कार्यक्रममा श्रमिकको योगदान पनि रहन्छ तर साना उद्योगमा काम गर्ने श्रमिकहरु आफ्नो पारिश्रमिकबाट पैसा काटिने डरले योगदान दिन चाहँदैनन् ।’

चर्चामा

सम्बन्धित समाचार