शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • भाषण र शासनले मात्र देश विकास हुँदैन : सञ्चारमन्त्री बाँस्काेटा

भाषण र शासनले मात्र देश विकास हुँदैन : सञ्चारमन्त्री बाँस्काेटा

  • शुक्रबार, माघ २५, २०७५
भाषण र शासनले मात्र देश विकास हुँदैन : सञ्चारमन्त्री बाँस्काेटा

काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भाषण र शासनले मात्र देश विकास नहुने बताएका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) को १५औं वार्षिकोत्सवको समारोहमा बोल्दै मन्त्री बास्कोटाले सरकारी कार्यालय, सरकारी संयन्त्रहरूका कर्मचारी र नेतृत्ववर्गले काम नगर्ने तर भाषण मात्र गर्ने गरेकोमा आक्रोश व्यक्त गरे । मुलुकको विकासमा केन्द्रित हुनुपर्ने बेला अनावश्यक गफ गरेर बस्ने बानी लाग्नु ‘सतिको श्राप’को परिणाम भएको जिकिर उनले गरे । नेपाल टेलिकममा पनि काम नगर्ने, गफ मात्र गर्ने प्रवृति रहेको जिकिर गर्दै उनले यसलाई जरैदेखि उखेलेर फाल्नुपर्ने धारणा राखे ।
‘पहिलेपहिले अरूले नेपाल सतीले सरापेको देश हाे भन्दा मलाई के भनेको होला ? किने यस्तो निकृष्ट बोलेका होलान् जस्तो लाग्थ्यो । तर, पछि बुझ्दै जाँदा र भोग्दै आउँदा अहिले हो रहेछ जस्तो लाग्न थालेको छ । नेपालमा काम नगर्ने तर भाषण र शासन गर्ने प्रवृति धेरै छ । जुनकुनै सरकारी कार्यालय तथा निकायमा कर्मचारी राजनीति गर्न उद्दत देखिन्छन् । यसले देशको विकास कसरी गर्न सकिन्छ ?’ उनले भने, ‘अब यस्तो प्रवृतिको अन्त्य हुन्छ । हामी देश विकास, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढिसकेका छौं । यसमा अवरोध खडा गर्ने जो कोही पलायन हुनेछन् ।’
मन्त्री बाँस्कोटाले नेपाल टेलिकम देशकै लगानीको कम्पनी भएकाले यसले देश र जनताकै हीतमा काम गर्नु पर्ने स्मरण गराए । उनले प्राइभेट कम्पनी जस्तो नाफा मात्र खोज्ने नभएर नेपाल टेलिकमले दूर्गमभन्दा दूर्गम क्षेत्रमा समेत सेवा विस्तार गरेर जनतालाई सेवा दिनुपर्ने बताए । उनले नेपाल टेलिकमका समस्याको समाधानमा आफू कटिबद्ध भएर लागेको जानकारी दिँदै काममा ढिलासुस्ती गर्ने र अटेर गर्नेलाई कुनै हालतमा माफी नहुने बरू कारवाही गर्ने दृढता व्यक्त गरे ।
मन्त्री बाँस्कोटाले ट्रेड युनियनतर्फ संकेत गर्दै घरको समस्या हल गर्न समस्याको पहिचान गर्ने र त्यसको समाधानतर्फ लाग्नु पर्ने बताए । घरमा धमिरा लागेको छ भने त्यसलाई सफा गर्नतर्फ लाग्नु पर्छ, घरै छाड्ने वा घर जलाउनेतर्फ कोही पनि जान नहुने उनले बताए । ‘विश्व बजारमा प्रविधिको तीब्र विकासअनुरूप ग्राहकको रुचिमा परिवर्तन आउनु स्वभाविक भएको र सोहीअनुरूप टेलिकमले नवीनतम प्रविधिको अवलम्बन गरी कम्पनीलाई व्यावसायिक, ग्राहकमुखी र प्रतिस्पर्धी बनाएर अघि बढ्नु पर्ने हुन्छ ’ उनले भने ।
पछिल्लो समय नेपाल टेलिकमले लगानी साझेदार कम्पनीको खोजी गरिरहेका बेला मन्त्री बाँस्कोटाले टेलिकम देशकै कम्पनी भएकाले यसको लगानी र मुनाफा पनि देशभित्र नै सीमित हुनुपर्ने प्रष्ट पारे । उनले स्वदेशी कम्पनीले बाह्य सहयात्री खोज्दा देशको पैसा बाहिरिने भएकाले देशको अर्थतन्त्र नै बाहिर्‍याउने रणनीतिमा कोहि पनि लाग्न नहुने बताए । बरू पुँजी संकलनमा समस्या भए देशभित्र नै त्यसको निकास खोजिनु पर्ने उनको भनाइ छ । यसका लागि सार्वजनिक सेयर खुल्ला गर्न सकिने र सर्वसाधारणबाट लगानी जुटाउनु पर्ने सुझावसमेत उनले दिए । पूँजी भए प्रविधि संसारका जुनकुनै मुलुकबाट भित्र्याउन सकिने उनको भनाइ थियो ।
हालै मात्र टेलिकमले शुरु गरेको फाइबर टु दी होम, फोरजीको सहज पहुँच र फाइभजीको प्रस्थान विन्दुको लक्ष्य पूरा गर्न र तोकिएको समयभित्र गुणस्तरीय कार्यसम्पादन गर्न टेलिकम र सरोकारवाला निकायहरू एकजुट भएर लाग्नु पर्ने मन्त्री बाँस्कोटाले बताएका छन् । यसमा सबैको साथ सहयोग र सहकार्य रहने उनको विश्वास छ ।
लामो समयदेखि दूरसञ्चार सेवा प्रवाह गरिएको टेलिकमले वि.स २०६० साल माघ २२ गते विधिवत रूपमा कम्पनीमा दर्ता भएको थियो । यसै वर्षदेखि कम्पनी आफ्नो औपचारिक वार्षिक उत्सव मनाउँदै आएको छ । यसै अवसरमा टेलिकमले मंगलबारबाट अन्तर्राष्ट्रिय रोमिक कल सेवाको समेत शुरुवात गरेको छ । ‘प्रिपेड आउटबाउण्ड रोमिक’ नामक उक्त सफ्ट सेवा बाँस्कोटाले सार्वजनिक गरेका हुन् ।
यो सेवा शुरु भएसँगै अब एनटिसी मोबाइल प्रयोगकर्ता आफूले प्रयोग गरिरहेको सिमबाट बाहिरी मुलुक भारत र चीनमा समेत टेलिकम सेवा उपभोग गर्न सक्ने छन् । यसमा टेलिकमको सेवा सर्त भने लागू हुने कम्पनीले जनाएको छ । टेलिकमले वार्षिकोत्सवका अवसरमा आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सेवा सुविधा तथा प्याकेज उपहार पनि प्रदान गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार